नेप्सेको सीईओका लागि ८ जनाको आवेदन दर्ता

-



     सफल आवाज    
     श्रावण २७ गते २०८३ मा प्रकाशित



काठमाडौं, २७ साउन। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ८ जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम दिन साउन २६ गतेसम्म ८ वटा आवेदन दर्ता भएका हुन्।

अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले ८ जनाको निवेदन परेको पुष्टि गर्दै अब छनोट प्रक्रिया अघि बढ्ने जानकारी दिए। सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवेदकहरूले पेस गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्याङ्कन प्रक्रिया थाल्नेछ।

प्रवक्ता लम्सालका अनुसार विज्ञहरूमार्फत कार्ययोजनाको मूल्याङ्कन गरिसकेपछि उत्कृष्ट उम्मेदवारहरूको सर्टलिस्ट तयार पारिनेछ। सर्टलिस्टमा परेका उम्मेदवारहरूले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण (प्रेजेन्टेसन) र अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। सो प्रक्रिया टुङ्गिएपछि नेप्सेले नयाँ नेतृत्व पाउनेछ।

यसअघि सिफारिस समितिले साउन १२ गतेदेखि २६ गतेसम्मका लागि १५ दिनको म्याद राखेर खुला आवेदन आह्वान गरेको थियो।

आवश्यक योग्यता र अनुभव

नेप्सेको सीईओ पदका लागि मन्त्रालयले निश्चित शैक्षिक र व्यावसायिक मापदण्ड तोकेको छ:

  • शैक्षिक योग्यता: अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन वा सूचना प्रविधि विषयमा स्नातकोत्तर (Master’s) वा चार्टर्ड एकाउन्टेन्सी (CA) उत्तीर्ण।
  • अनुभव: पूँजी बजार वा वित्तीय क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव, जसमध्ये ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्ने।