
काठमाडौं, ३० साउन । नेपालमा विद्युतीय सवारी साधन (ईभी), मोबाइल फोन तथा ल्यापटपमा प्रयोग हुने ब्याट्रीहरूको उचित व्यवस्थापन आज ठूलो चुनौतीका रूपमा उभिएको छ। ब्याट्री रिसाइक्लिङको दायित्व सवारी आयातकर्तामा मात्र सीमित नगरी यसका लागि छुट्टै प्रविधि र कम्पनीको व्यवस्थापन हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ संवाद कार्यक्रममा नाइमाका संस्थापक तथा अटोमोबाइल व्यवसायी आकाश गोल्छाले नेपालमा ब्याट्री व्यवस्थापनको व्यवस्थित प्रणाली र स्पष्ट कानुनी व्यवस्था नभएको बताएका हुन्।
ब्याट्री व्यवस्थापनका मुख्य चुनौती र व्यवसायीका मागहरू:
- कानुनी स्पष्टताको अभाव: दुर्घटनामा परेका वा पुराना गाडीका ब्याट्रीको जिम्मेवारी कसको हुने भन्ने स्पष्ट नीति छैन। आयातकर्तासँग वारेन्टी अवधिभरका ब्याट्री मात्र आउने र बाँकी ब्याट्री ग्राहकको अधीनमा रहने हुँदा सबै दोष आयातकर्तालाई मात्र दिन नमिल्ने व्यवसायीको भनाइ छ।
- ब्याट्रीको प्रकृत्ति अनुसारको नीति: परम्परागत लिड एसिड ब्याट्रीले उचित मूल्य पाउने भएकाले ल्यान्डफिल साइटमा नफालिए पनि लिथियम आयन ब्याट्रीको व्यवस्थापन जटिल रहेको छ। मोबाइल र ल्यापटपका पुराना ब्याट्रीहरू खुला सीमाका कारण भारत लैजाने वा खोला-नाला र ल्यान्डफिल साइटमा फालिने गरिएको छ।
- भारतको अभ्यास र नेपालको आवश्यकता: भारतमा ब्याट्री व्यवस्थापन सवारी आयातकर्ताले नभई छुट्टै रिसाइक्लिङ कम्पनीहरूले गर्दै आएका छन्। नेपालमा पनि सरकारले कानुनी रूपमै लाइसेन्स प्राप्त रिसाइक्लरहरूलाई मात्र संकलन र प्रशोधनको जिम्मा दिनुपर्ने माग गरिएको छ।
- निर्यात र अनुदान नीतिको खाँचो: हाल लिड एसिड ब्याट्री बिना कर भारत निर्यात भइरहेको छ। भारतमा ब्याट्री रिसाइक्लिङ गर्दा सरकारले प्रतिकिलो २ देखि ५ रुपैयाँसम्म छुट (रिबेट) दिने व्यवस्था गरेजस्तै नेपालमा पनि प्रोत्साहन नीति ल्याउनुपर्ने सुझाइएको छ।
- ‘ब्ल्याक मास’ निर्यातको सम्भावना: नेपालमा पूर्ण रिसाइक्लिङ पूर्वाधार नभएसम्म ब्याट्रीबाट प्लाष्टिक, तामा र एल्युमिनियम छुट्याएपछि बाँकी रहने ‘ब्ल्याक मास’ लाई भारत निर्यात गरी आर्थिक लाभ लिन सकिने गोल्छाले बताए।
सरकारले कडा र बाध्यकारी नियम मात्र ल्याएमा स्टिल उद्योगमा जस्तै समस्या आउने चेतावनी दिँदै व्यवसायीहरूले आयातकर्ता, सरकार, उपभोक्ता र सम्पूर्ण सरोकारवालाको साझा दायित्व हुने गरी स्पष्ट नीतिगत व्यवस्था गर्न माग गरेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




