
भोजपुर, ३१ साउन। पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको छ । गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी तथा खोर निर्माणमा ५० प्रतिशत अनुदान पाएपछि महिला व्यावसायिक बङ्गुरपालनमा जुटेका हुन् ।
पौवादुङमा गाउँपालिका–४ बास्तिमकी बर्तमाया राई गाउँपालिकाको सहयोगमा खोर निर्माणसँगै उन्नत जातका बङ्गुरका पाठापाठी पाएपछि व्यावसायिक रूपमा बङ्गुरपालन थालेको बताउनुहुन्छ । हाल उहाँले उन्नत जातका १० वटा बङ्गुरका पाठापाठीबाट व्यवसाय सुरु गर्नुभएको छ । अनुदान पाएपछि स्थानीय किसानमा पशुपालनतर्फको आकर्षणसमेत बढेको छ ।
पशुपालन सुरु गर्न आवश्यक प्रारम्भिक लगानी प्राप्त हुँदा व्यवसाय सञ्चालन गर्न सहज भएको सोही पालिकाका जयमारानी राईले बताउनुहुन्छ । अनुदानले किसानलाई आफ्नै लगानीमा मात्र निर्भर हुनुपर्ने अवस्था कम गर्नुका साथै व्यावसायिक पशुपालनतर्फ अघि बढ्न प्रेरित गरेको उहाँको भनाइ छ । पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत वडा नं. ४, ५ र ६ का किसानलाई बङ्गुरपालनका लागि अनुदान दिइएको बताउनुभयो ।
“महिलालाई उद्यमशील बनाउँदै आयआर्जनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ,” उहाँले भन्नुभयो । गाउँपालिकाले गत आर्थिक वर्षमा रु. ३० लाख बजेट विनियोजन गरी किसानको ५० प्रतिशत लागत साझेदारीमा रु. ६० लाख बराबरका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रममार्फत २० वटा बङ्गुर र एउटा बाख्रा फर्मलाई अनुदान दिइएको थियो ।
गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय आवश्यकता र किसानको मागका आधारमा पशुपालन तथा कृषिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई भन्नुहुछ “महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन पशुपालन तथा कृषिमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ । कृषिमा आधारित आयआर्जन वृद्धि गर्दै स्थानीय महिलालाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो ।”








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




