वाणिज्य बैंकहरूमा नबिलको नाफा उच्च, एभरेस्टको लाभांश क्षमता धेरै

-



     सफल आवाज    
     श्रावण ३१ गते २०८३ मा प्रकाशित



काठमाडाैं, ३१ साउन । नेपालमा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा बैंकहरूको समग्र वित्तीय स्थितिमा निकै उतारचढाव देखिएको छ।

आम्दानी र खुद नाफाका आधारमा नबिल बैंक शीर्ष स्थानमा कायम रहेको छ भने खराब कर्जा र इम्पेयरमेन्ट चार्जको ठूलो चापका कारण प्रभु बैंक भने नोक्सानीमा गएको छ।

वित्तीय विवरणका प्रमुख सूचकहरूलाई निम्नानुसार वर्गीकरण गरिएको छ:

१. आम्दानी, खुद नाफा र लाभांश क्षमता

  • उच्च नाफा कमाउने बैंकहरू: नबिल बैंक (रु. ७.९० अर्ब), कुमारी बैंक (रु. ७.३८ अर्ब), ग्लोबल आइएमई बैंक (रु. ६.२२ अर्ब), एभरेस्ट बैंक (रु. ५.०६ अर्ब) र राष्ट्रिय वाणिज्य बैंक (रु. ४.५५ अर्ब)।
  • नोक्सानीमा रहेको बैंक: प्रभु बैंक (रु. २४.१२ करोड खुद नोक्सानी)।
  • उत्कृष्ट लाभांश क्षमता: एभरेस्ट बैंक (३८.३२%), नबिल बैंक (१९.१०%) र स्ट्याण्डर्ड चार्टर्ड बैंक (१९.०४%)।
  • लाभांश दिन नसक्ने बैंकहरू: निष्कृय कर्जाको प्रोभिजनिङ र नियामक समायोजनका कारण एनआईसी एशिया, हिमालयन, प्रभु र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ।

२. पूँजी, जगेडा कोष, निक्षेप र कर्जा प्रवाह

  • चुक्ता पूँजी: ग्लोबल आईएमई बैंक (रु. ३८.११ अर्ब) र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (रु. ३४.१२ अर्ब)।
  • जगेडा कोष: राष्ट्रिय वाणिज्य बैंक (रु. ४०.४५ अर्ब) र नबिल बैंक (रु. ३९.८५ अर्ब)।
  • निक्षेप संकलन: राष्ट्रिय वाणिज्य बैंक (रु. ६८६.१३ अर्ब) र ग्लोबल आईएमई बैंक (रु. ६६९.१७ अर्ब)।
  • कर्जा प्रवाह: नबिल बैंक (रु. ४६०.३१ अर्ब) र ग्लोबल आईएमई बैंक (रु. ४३९.३४ अर्ब)।

३. प्रतिशेयर आम्दानी (EPS) र नेटवर्थ

  • उच्च ईपीएस: एभरेस्ट बैंक (रु. ३६.९५), नेपाल बैंक (रु. ३०.६३), राष्ट्रिय वाणिज्य बैंक (रु. २९.१४), स्ट्याण्डर्ड चार्टर्ड बैंक (रु. २८.३८), नबिल बैंक (रु. २८.३६) र कुमारी बैंक (रु. २८.१७)।
  • कमजारे ईपीएस: प्रभु बैंक (-रु. १.०२) र एनआईसी एशिया बैंक (रु. १.२२)।
  • प्रतिशेयर नेटवर्थ: नेपाल बैंक (रु. २८७.७०) अग्रस्थानमा छ भने एभरेस्ट र नबिल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
  • मूल्य आम्दानी अनुपात (P/E Ratio): कुमारी र नेपाल बैंकको पीई रेसियो सस्तो देखिएको छ भने एनआईसी एशिया बैंकको २६६.९० गुणा पुगेको छ।

४. निष्क्रिय कर्जा (NPL) र जोखिम व्यवस्थापन

  • न्यून खराब कर्जा (उत्कृष्ट): एभरेस्ट बैंक (०.४९%) र स्ट्याण्डर्ड चार्टर्ड बैंक (२.०३%)।
  • उच्च खराब कर्जा (चुनौतीपूर्ण): प्रभु बैंक (१५.५५%)। साथै एनआईसी एशिया, नेपाल इन्भेष्टमेण्ट मेगा, हिमालयन र कुमारी बैंकको खराब कर्जा ७ देखि ९ प्रतिशतभन्दा माथि पुगेको छ।

समग्रमा, बलियो वित्तीय अनुशासन र न्यून खराब कर्जा भएका बैंकहरू लगानीकर्ताका लागि आकर्षक देखिएका छन् भने आक्रामक कर्जा विस्तारपछि असुलीमा समस्या झेलेका बैंकहरू प्रोभिजनिङको भारले थप थिचिएका छन्।