एशियन ल्युब्रिकेन्टस्‌ले पुँजी ७० करोड पुर्‍याउने, ३० करोड लगानी गरिँदै

-



     सफल आवाज    
     भाद्र २ गते २०८३ मा प्रकाशित



काठमाडाैं, २ भदाै । झापाको धुलाबारीस्थित एशियन ल्युब्रिकेन्टस् कम्पनी प्रा.लि.ले आफ्नो व्यावसायिक दायरा विस्तार गर्दै पुँजी संरचना ७० करोड रुपैयाँ पुर्‍याउने योजना अघि सारेको छ।

‘ENOL’ ब्रान्डअन्तर्गत इन्जिन आयल, मोटरसाइकल आयल, हाइड्रोलिक, गियर आयल, ब्रेक फ्लुड, कुलेन्ट र ग्रीस उत्पादन गर्दै आएको कम्पनीले अब नयाँ क्षेत्र र उत्पादन लाइनमा पाइला चाल्ने तयारी गरेको हो।

हाल वार्षिक १८ लाख लिटर ल्युब्रिकेन्ट र ६ लाख किलो ग्रीस उत्पादन क्षमता रहेको यस उद्योगले हाल क्षमताको १५ प्रतिशत तेल र १० प्रतिशत ग्रीस मात्रै उत्पादन गरिरहेको छ। आगामी तीन वर्षभित्र विद्यमान पूर्वाधारको पूर्ण उपयोग गर्दै उत्पादन र आम्दानी तीव्र रूपमा बढाउने लक्ष्य कम्पनीको छ।

वित्तीय स्थिति र आगामी आम्दानीको प्रक्षेपण

गएको आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले २०.८ प्रतिशतको वृद्धिसहित ९ करोड ८१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। आगामी वर्षहरूका लागि कम्पनीले तय गरेको आम्दानीको प्रक्षेपण निम्नअनुसार छ:

आर्थिक वर्षप्रक्षेपित आम्दानी
२०८२/८३ (वास्तविक)रु. ९ करोड ८१ लाख
२०८३/८४ (प्रक्षेपित)रु. ३५ करोड १४ लाख
२०८४/८५ (प्रक्षेपित)रु. ५० करोड ३५ लाख
२०८५/८६ (प्रक्षेपित)रु. ७५ करोड ४५ लाख

नयाँ लगानी र व्यावसायिक विस्तारका रणनीतिहरू

कम्पनीले थप गर्न लागेको ३० करोड रुपैयाँ लगानी मुख्य गरी निम्न क्षेत्रहरूमा परिचालन गर्नेछ:

  • अटोमेसन र नयाँ उत्पादन: ब्लेन्डिङ लाइनलाई पूर्ण अटोमेसन गर्ने तथा नयाँ भर्टिकलका रूपमा अलकत्रा र औद्योगिक आयलको कारोबार सुरु गर्ने।
  • ट्रान्सफर्मर आयल लाइन: नयाँ ट्रान्सफर्मर आयल उत्पादन लाइन स्थापना गरी विद्युत् सबस्टेसन, जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरण जस्ता ठूला बजारमा पहुँच पुर्‍याउने।
  • सञ्जाल विस्तार: देशभर वितरण नेटवर्कलाई थप सशक्त र व्यापक बनाउने।