भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध, ८ महिनालाई पुग्छ मौज्दात: अनावश्यक सञ्चय नगर्न आग्रह

-



     सफल आवाज    
     भाद्र २ गते २०८३ मा प्रकाशित



काठमाडाैं, २ भदाै । भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सक्रियता देखाएको छ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय प्रतिबन्धका बाबजुद नेपालमा चिनीको मौज्दात पर्याप्त रहेको र आपूर्ति व्यवस्था सहज बनाउन विभिन्न कदम चालिसकिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार स्वदेशी चिनी उद्योग, साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग रहेको मौज्दातले करिब ८ महिनाको राष्ट्रिय माग धान्न पुग्छ।

आपूर्ति सहज बनाउन उद्योगमन्त्रीको उपस्थितिमा चिनी उत्पादक संघ र सरोकारवाला निकायहरूबिच छलफल भइसकेको छ, जसमा उद्योगीहरूले बजारमा नियमित आपूर्ति र उचित मूल्य सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।

बजार अनुगमन र दीर्घकालीन योजना:

  • कालोबजारीमा कडाइ: बजारमा कृत्रिम अभाव, कालोबजारी, अनुचित मौज्दात र अस्वाभाविक मूल्यवृद्धि रोक्न अनुगमन कडा पारिने र कानुन उल्लङ्घन गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिइएको छ।
  • आत्मनिर्भरताको प्रयास: उखु खेती प्रवर्द्धनका लागि कृषि मन्त्रालयले किसानलाई सहजीकरण गर्ने, आधुनिक प्रविधि र नवप्रवर्तनमार्फत चिनी उद्योगको क्षमता बढाउने तथा निजी क्षेत्रसँग सहकार्य गरी दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर बन्ने नीति लिइएको छ।

सरकारले दैनिक उपभोग्य वस्तुको आपूर्ति र मूल्य स्थिरता कायम गर्न मन्त्रालय पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै आम उपभोक्तालाई अन्योलमा नपर्न, बजारमा संयमता अपनाउन र अनावश्यक रूपमा चिनी सञ्चय नगर्न आग्रह गरेको छ।