
भोजपुर, ४ भदौ। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो ।
उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन् । टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान रामबहादुर विष्टका अनुसार गाउँमै आलु प्रतिकिलो रु ४० देखि ५० सम्म बिक्री हुने गरेको छ ।
प्राङ्गारिक मलको प्रयोग गरेर उत्पादन गरिएको स्थानीय आलुको बजारमा राम्रो माग रहेको उहाँले बताउनुभयो । गाउँबाट खरिद गरिएको आलु सहरमा पुग्दा प्रतिकिलो रु ६५ देखि ८० सम्ममा बिक्री हुने गरेको छ । “गाउँमा उत्पादन भएको आलु पहिले बिक्री गर्न निकै समस्या हुन्थ्यो,” उहाँले भन्नुभयो, “उत्पादन गरेर पनि घरमै राख्नुपर्ने अवस्था थियो । सडकको सुविधा भएपछि व्यापारी गाउँमै आउन थालेका छन् । यसले उत्पादन बिक्री गर्न सहज भएको छ ।”
किसान धनराज राईका अनुसार केही वर्षअघिसम्म गाउँबाट आलु बजारसम्म पु¥याउन निकै कठिन थियो । सडक सुविधा नहुँदा भरिया तथा अन्य साधनको प्रयोग गर्दा ढुवानी खर्चसमेत बढी लाग्ने गरेको उहाँले बताउनुभयो । अहिले गाउँसम्म सडक पुगेपछि व्यापारी घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन् । “पहिले आलु उत्पादन गरेपछि कहाँ लगेर बेच्ने भन्ने चिन्ता हुन्थ्यो,” उहाँले भन्नुभयो, “बजारसम्म पु¥याउँदा ढुवानी खर्च धेरै लाग्थ्यो ।
अहिले गाउँमै व्यापारी आएर आलु खरिद गर्ने भएकाले किसानलाई निकै सहज भएको छ ।” भोजपुरमा सडक सञ्जाल विस्तारसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत सुधार हुँदै गएको छ । आलु, मकै, तरकारी, फलफूललगायतका कृषि उपज बजारसम्म पु¥याउन सहज भएको किसानको भनाइ छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा उत्पादन हुने आलु स्थानीय बजारसँगै धरान, इटहरीलगायतका सहरी क्षेत्रमा पुग्ने गरेको छ ।
प्राङ्गारिक मलको प्रयोग गरेर उत्पादन गरिएको आलुको स्वाद र गुणस्तर राम्रो भएकाले बजारमा माग बढेको उनीहरू बताउँछन् । भोजपुरमा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




