व्यवसायीको मनोबल खस्कियो, अर्थतन्त्रको ‘रिइन्जिनियरिङ’ आवश्यक: अध्यक्ष श्रेष्ठ

-



     सफल आवाज    
     भाद्र ९ गते २०८३ मा प्रकाशित



काठमाडाैं, ९ भदाै । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको वर्तमान आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्योगी-व्यवसायीहरूको मनोबल इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडौँमा आयोजित ‘नाडा अटो शो २०२६’ को भव्य उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले भोगिरहेको संकट र सरकारको शिथिलतातर्फ ध्यानाकर्षण गराएका हुन्।

सम्बोधनका क्रममा श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी र निजी क्षेत्रको सुस्तता केवल अस्थायी समस्या मात्र नभई संरचनात्मक कमजोरीको उपज भएको उल्लेख गरे।

बैंक तथा वित्तीय संस्थामा तरलता (पैसा) संचित भए पनि बजारमा माग सिर्जना हुन नसक्दा नयाँ लगानीका क्षेत्रहरू ठप्प प्रायः बनेका छन्। उद्योगी-व्यवसायीहरूले आफ्ना पूर्वाधार तथा व्यवसाय विस्तार गर्नु त परै जाओस्, विद्यमान व्यवसाय बचाउनै धौ-धौ परिरहेको वास्तविकता उनले औंल्याए।

बजेट कार्यान्वयनमा सरकार कमजोर

श्रेष्ठले सरकारले वार्षिक बजेटमार्फत लिने महत्वाकांक्षी लक्ष्य र वास्तविक कार्यान्वयनबीच ठूलो खाडल रहेको आरोप लगाए। बजेटमा घोषणा गरिएका सुधारका कार्यक्रम, पुँजीगत खर्च र निजी क्षेत्रमैत्री सुविधाहरू कागजमै सीमित हुँदा बजारमा सकारात्मक सन्देश जान नसकेको उनको भनाइ थियो। नीतिगत अस्थिरता र सरकारी संयन्त्रको सुस्त कार्यशैलीले गर्दा व्यवसायीहरू नयाँ लगानी गर्न डराएको उनले स्पष्ट पारे।

अर्थतन्त्रको ‘रिइन्जिनियरिङ’ को माग

पारम्परिक आर्थिक नीति र पुरानै नियमावलीले अबको आधुनिक र प्रतिस्पर्धी अर्थतन्त्रलाई अगाडि बढाउन नसक्ने ठोकुवा गर्दै उनले मुलुकको समग्र अर्थतन्त्रको ‘रिइन्जिनियरिङ’ (संरचनात्मक पुनःसंरचना) गर्न ढिला भइसकेको बताए। उनले भने, “पुरानै ढर्राबाट अब नतिजा निस्कँदैन। नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्दै अर्थतन्त्रको इन्जिनलाई नयाँ ढङ्गबाट रिइन्जिनियरिङ गर्नैपर्छ।”

अटोमोबाइल क्षेत्र र निजी क्षेत्रको भूमिका

अटोमोबाइल क्षेत्रलाई केवल विलासिताको साधनका रूपमा हेर्ने सरकारी दृष्टिकोणप्रति असन्तुष्टि जनाउँदै उनले यो क्षेत्र यातायात, राजस्व, रोजगारी र यातायात पूर्वाधारको मेरुदण्ड भएको उल्लेख गरे। अटोमोबाइल क्षेत्रमा भएको शिथिलताले समग्र देशको राजस्व र रोजगारीमा प्रत्यक्ष असर पारेको उनको तर्क थियो।

निजी क्षेत्रलाई अर्थतन्त्रको संवाहकका रूपमा अघि बढाउन सरकारले नियन्त्रणमुखी नभई सहजीकरणको भूमिका खेल्नुपर्नेमा श्रेष्ठले जोड दिए। व्यवसायीहरूको खस्किएको मनोबल उच्च बनाउन, कर प्रणालीमा सुधार गर्न, लचिलो मौद्रिक नीति अपनाउन र लगानीमैत्री वातावरण बनाउन सरकारसँग उनले जोडदार माग गरेका थिए ।