
काठमाडौं, १० भदौ । नेपाल धितोपत्र बोर्ड (SEBON) ले सेयर कारोबारलाई थप सुदृढ, प्रभावकारी, सुरक्षित र विश्वसनीय बनाउन नेपाल स्टक एक्सचेञ्ज (NEPSE) लाई १९ बुँदे निर्देशन जारी गरेको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) अनुसार बोर्डको नियमन विभागले नेप्सेका नाममा यो निर्देशन दिएको हो।
१. एआई प्रविधिको प्रयोगमा तत्काल रोक र अध्ययन
कारोबार व्यवस्थापन प्रणाली (TMS) मा कृत्रिम बौद्धिकता (AI) का आधारमा कारोबार आदेश प्रविष्ट हुने व्यवस्थाको पहिचान गरी अर्को व्यवस्था नभएसम्मका लागि रोक्न बोर्डले निर्देशन दिएको छ। साथै, एआई प्रविधिको प्रयोगबारे अन्तर्राष्ट्रिय अभ्यास, नेपालको आवश्यकता, नेप्सेको पूर्वाधार र कानुनी व्यवस्थाबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न भनिएको छ।
२. टीएमएसको ‘आईटी अडिट’ र प्रणाली सुधार
ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (TMS) सम्बन्धी लगानीकर्ताका गुनासोहरू बढेकाले नेप्सेबाट स्वीकृत प्राप्त प्रणालीहरूको अनिवार्य IT Audit तथा VAPT गरी प्रतिवेदन बुझाउन बोर्डले निर्देशन दिएको छ। धितोपत्र कारोबार प्रणाली (NOTS) मा देखिँदै आएका समस्या पहिचान गरी थप आधुनिक र सुरक्षित बनाउन पनि भनिएको छ।
३. मोबाइल एप, सी-केवाईसी र टी+टु (T+2) भुक्तानी
- मोबाइल एप: दोस्रो बजारको सेयर कारोबार मोबाइल एपमार्फत गर्न पाउने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
- C-KYC कार्यान्वयन: सीडीएससीले सञ्चालनमा ल्याएको C-KYC लाई TMS खाता खोल्दा प्रयोग गर्न सकिने व्यवस्था मिलाउन भनिएको छ।
- T+2 भुक्तानी: सेयर बिक्रीपछि T+2 अवधिभित्रै ग्राहकले रकम पाउने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ताकेता गरिएको छ।
४. नेप्से सूचकाङ्क र सर्किट ब्रेकर पुनरावलोकन
- नेप्से इन्डेक्स: हालको नेप्से सूचकाङ्कलाई ‘All Equity Index’ को रूपमा राखी फ्री फ्लोट सेयर (Free Float Shares) का आधारमा नयाँ ‘Benchmark Index’ विकास गर्न बोर्डले भनेको छ।
- सर्किट ब्रेकर: फ्री फ्लोट इन्डेक्सका आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्न तथा दैनिक १५% को सर्किट ब्रेकर र कारोबारको अन्तिम १५ मिनेटको आधारमा इन्डेक्स गणना गर्ने विधिसम्बन्धी अध्ययन गरी एक हप्ताभित्र सुझाव पेश गर्न निर्देशन दिइएको छ।
- नयाँ सूचकाङ्क: NEPSE 30, NEPSE High Cap जस्ता अनुमानयोग्य सूचकाङ्क विविधीकरण गर्न र सेन्सेटिभ सूचकाङ्क पुनरावलोकन गर्न भनिएको छ।
५. अन्य मुख्य निर्देशनहरू
- आफ्टर मार्केट अर्डर (AMO): धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२ बमोजिम AMO लाई प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिइएको छ।
- डेमो ट्रेडिङ: नयाँ लगानीकर्ता र विद्यार्थीका लागि सञ्चालित आधिकारिक डेमो ट्रेडिङ (demotrading.nepalstock.com) लाई निरन्तर रूपमा सञ्चालनमा राख्न भनिएको छ।
- कम्पनी वर्गीकरण र पहिलो कारोबार मूल्य: सूचीकृत कम्पनीहरूको वित्तीय सबलता र सुशासनका आधारमा वर्गीकरणलाई वस्तुनिष्ठ बनाउन र आईपीओ/सूचीकरणपछिको पहिलो कारोबार मूल्य निर्धारणलाई वैज्ञानिक बनाउन निर्देशन दिइएको छ।
- सूचना पोर्टल र साक्षरता: सूचना प्रवाहका लागि
data.nepalstock.comपोर्टल लागू गर्न र महिनाको कम्तीमा एउटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न भनिएको छ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यद्वारा जारी गरिएको उक्त पत्रको बोधार्थ अर्थ मन्त्रालय, सीडीएससी, स्टक ब्रोकर एसोसिएसन र मर्चेन्ट बैंकर एसोसिएसनलाई समेत पठाइएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




