
काठमाडौं, १० भदाै। रसुवामा आएको आकस्मिक बाढीका कारण जलविद्युत आयोजना तथा प्रसारण संरचनाहरूमा क्षति पुगेको खबरसँगै त्यसको प्रत्यक्ष असर बुधबारको शेयर बजारमा देखिएको छ।
बाढीको खबर सार्वजनिक भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत जलविद्युत कम्पनीहरूको शेयरमूल्यमा तीव्र गिरावट आएको छ।
नेप्से परिसूचक ३५.९२ अंकले घटेर २५५८.३५ विन्दुमा ओर्लिएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ६.०० अंक, फ्लोट इण्डेक्स २.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंकले घटेका छन्।

जलविद्युत शेयरमा पहिरो
बाढी प्रभावित क्षेत्रमा आयोजना रहेका जलविद्युत कम्पनीहरूमा लगानीकर्ताको बिक्री चाप उच्च देखिएको छ:
- रसुवागढी हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युत: शेयरमूल्य नकारात्मक सर्किट लेभल (१०%) मा कारोबार।
- त्रिशुली जलविद्युत कम्पनी: शेयरमूल्य करिब १३ प्रतिशतले गिरावट।
- माथिल्लो मैलुङ्ग खोला जलविद्युत: साढे ११ प्रतिशतभन्दा बढीको गिरावट।
- साञ्जेन जलविद्युत कम्पनी: ११ प्रतिशतभन्दा बढीले शेयरमूल्य ओरालो।
कारोबार रकममा भने सुधार
बजार परिसूचक घटे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ। मंगलबार ४ अर्ब १० करोड ९७ लाख रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ कम्पनीका १ करोड ३५ लाख ८२ हजार कित्ता शेयर ६१ हजार ४४२ पटक खरिदबिक्री हुँदा कुल ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
अन्य बजार गतिविधि
गिरावट आएका बीच केही कम्पनीहरूमा भने सकारात्मक प्रभाव देखिएको छ:
- सर्वोत्तम पेन्ट्स: शेयरमूल्य १५८ रुपैयाँ २० पैसा (सकारात्मक सर्किट) बढेर अन्तिम कारोबार १,२१२ रुपैयाँ ९० पैसामा भयो।
- अप्पर हेवाखोला हाइड्रोपावर: शेयरमूल्य करिब साढे १० प्रतिशतले वृद्धि।
- शीर्ष कारोबार: २० करोड ५६ लाख रुपैयाँको कारोबारसहित चिलिमे हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। त्यस्तै सानिमा मिडिल तमोर हाइड्रोपावरको साढे १९ करोड र साहस उर्जाको १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो।
सबै उपसमूह राताम्मे
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। निर्जीवन बीमा उपसमूह सर्वाधिक ३.९० प्रतिशतले घट्दा जलविद्युत उपसमूह करिब ३ प्रतिशतले ओरालो लाग्यो। त्यसैगरी वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहका परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




