नेपाल चेम्बर अफ कमर्सकाे टाेली ड्रोन र पावर बैंकसहित उद्धारमा

-



     सफल आवाज    
     भाद्र १२ गते २०८३ मा प्रकाशित



काठमाडौं, १२ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनाका लागि अभियानलाई तीव्र बनाएको छ।

चेम्बरले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित स्थानीय, स्वदेशी तथा विदेशी यात्रु एवम् उद्योगी-व्यवसायीहरूको साथमा चेम्बर निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ।

बाढीका कारण निजी तथा सार्वजनिक सवारीसाधन, भन्सार यार्डमा रहेका मालवाहक गाडी, घरपसल, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा व्यापक क्षति पुगेको चेम्बरले जनाएको छ।

राहत तथा उद्धारमा चेम्बरकाे पहल

  • ड्रोनमार्फत उद्धारमा सहयोग: उद्धार कार्यलाई प्रभावकारी बनाउन चेम्बरले विदुर नगरपालिकामा ५० केजी पेलोड क्षमताको उद्धार ड्रोन र एउटा सर्भिलेन्स ड्रोन पठाइसकेको छ। साथै, १०० केजी पेलोड क्षमताको अर्को ठूलो ड्रोन पठाउने अन्तिम तयारी भइरहेको छ।
  • नगद, जिन्सी र सञ्चार सहयोग: रसुवा, नुवाकोट र धादिङका जिल्ला चेम्बरमार्फत प्रभावितहरूका लागि तत्काल नगद तथा जिन्सी सामग्री वितरण गरिएको छ। सञ्चार सेवा सहज बनाउन प्रभावित क्षेत्रमा १२५ वटा पावर बैंक समेत उपलब्ध गराइएको छ।
  • रक्तदान कार्यक्रम: बाढीपीडित र घाइतेहरूको उपचारका लागि नेपाल युथ चेम्बरको आयोजनामा भदौ ११ गते जमलस्थित चेम्बर सचिवालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रमलाई आवश्यकता अनुसार निरन्तरता दिइनेछ।

विपद्को यस कठिन घडीमा चेम्बरले आफ्ना मातहतका जिल्ला तथा नगर चेम्बर, महिला चेम्बर, युथ चेम्बर, विपद् व्यवस्थापन परिषद् र वस्तुगत संघहरूलाई तत्काल राहत तथा व्यवस्थापनमा खटिन निर्देशन दिएको छ।

तत्कालका लागि उद्धार र राहतका साथै प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा समेत सरकार र अन्य सरोकारवालाहरूसँग सहकार्य गर्दै अघि बढ्ने चेम्बरले जनाएको छ।