उद्धार र राहतका लागि प्रमुख प्रतिपक्षी दलद्वारा सरकारलाई ९ बुँदे ध्यानाकर्षण

-



     सफल आवाज    
     भाद्र १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ भदौ । भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको निरीक्षणपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर ९ बुँदे ध्यानाकर्षणपत्र बुझाउनुभएको छ।

बाढी प्रभावित क्षेत्रहरू नुवाकोटको ढुङ्गेबजार, देवीघाटलगायतका स्थानको स्थलगत अनुगमन गरी फर्किनुभएका नेता आङ्देम्बेले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहलाई भेटेर उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो।

ध्यानाकर्षणपत्रमा उठाइएका प्रमुख विषयहरू निम्न छन्:

  • हवाई उद्धारमा प्रभावकारिता: प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउन नेपाली सेनाको सराहना गर्दै रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट गठन गरी परिचालन गर्नुपर्ने।
  • सडक तथा पुल सञ्चालन: अवरुद्ध सडक सञ्जाल खुलाउनका साथै क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये कम्तीमा सात स्थानमा तत्काल बेलीब्रिज जडान गरी आवतजावत सहज बनाउनुपर्ने।
  • बेपत्ताको खोजी र शव व्यवस्थापन: बाढीले बगाएर ल्याएका शवहरूको पहिचान, यत्रतत्र रहेका शवको व्यवस्थापन र सम्पर्कविहीन भएकाहरूको खोजीका लागि विशेष टोली खटाउनुपर्ने।
  • यातातयात र स्वास्थ्य उपचारको व्यवस्था: सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई काठमाडौँसम्म पुर्‍याउन यातायातको प्रबन्ध मिलाउनुपर्ने। साथै, नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि अक्सिजन, औषधि र ज्येष्ठ नागरिकका लागि शय्याको उचित व्यवस्था हुनुपर्ने।
  • स्थानीय तहसँग समन्वय र तुइन व्यवस्थापन: राहत तथा उद्धारमा स्थानीय सरकार र सामाजिक सङ्घसंस्थासँग सहकार्य बढाउनुका साथै त्रिशूलीसहितका नदी क्षेत्रमा शीघ्र तुइनको व्यवस्था गर्नुपर्ने।
  • अत्यावश्यक सेवाको पुनःसञ्चालन: बाढी प्रभावित क्षेत्रमा विद्युत् तथा सञ्चार सेवा तत्काल सुचारु गर्नुपर्ने।

विपद्को यस कठिन घडीमा नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकता दिँदै उद्धार र पुनःस्थापनाका कार्यमा सहकार्य तथा समन्वय गर्न नेपाली काङ्ग्रेस तयार रहेकोसमेत नेता आङ्देम्बेले स्पष्ट पार्नुभएको छ।