काठमाडौं, १४ भदाै । नेपालमा विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) को प्रयोग तीव्र गतिमा विस्तार भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को १२ महिनाको तथ्यांकअनुसार एक वर्षको अवधिमा मोबाइल बैंकिङ, क्यूआर कोड र वालेटमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको हो।
डिजिटल भुक्तानीका माध्यमहरूको प्रयोग बढ्दा परम्परागत रूपमा प्रयोग हुँदै आएका एटीएमबाट नगद झिक्ने र डेबिट कार्डमार्फत हुने कारोबार भने घटेका छन्।
कारोबार संख्यामा मोबाइल बैंकिङको वर्चस्व
राष्ट्र बैंकको तथ्यांकअनुसार २०८३ असारमा मोबाइल बैंकिङमार्फत हुने कारोबारको संख्या ८ करोड २६ लाख पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा (२०८२ असार) यस्तो कारोबार ६ करोड ५५ लाख रहेकोमा एक वर्षमा २६.१२ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, क्यूआरमा आधारित भुक्तानी कारोबार एक वर्षको अवधिमा ७२.९६ प्रतिशतले बढेर ४ करोड २ लाखबाट ६ करोड ९६ लाख पुगेको छ। वालेटमार्फत हुने कारोबार पनि ४१.९३ प्रतिशतले बढेर ५ करोड ७० लाख पुगेको छ।
माध्यमगत कारोबार संख्याको तुलना (२०८२ असार र २०८३ असार):
- मोबाइल बैंकिङ: ६ करोड ५५ लाखबाट बढेर ८ करोड २६ लाख (+२६.१२%)
- क्यूआर भुक्तानी: ४ करोड २ लाखबाट बढेर ६ करोड ९६ लाख (+७२.९६%)
- वालेट: ४ करोड १९ लाखबाट बढेर ५ करोड ७० लाख (+४१.९३%)
- फास्टर पेमेन्ट सिस्टम: १ करोड ८० लाखबाट बढेर २ करोड २१ लाख (+२२.६२%)
- क्रस–बोर्डर QR: १ लाख ५५ हजारबाट बढेर ४ लाख २५ हजार (+१७३.४२%)
- ई–कमर्स: १ लाख ९६ हजारबाट बढेर ३ लाख २४ हजार (+६४.९६%)
- क्रेडिट कार्ड: २ लाख ८८ हजारबाट बढेर ३ लाख ८३ हजार (+३३.०९%)
- इन्टरनेट बैंकिङ: ५ लाख ६४ हजारबाट बढेर ६ लाख ८७ हजार (+२१.७०%)
- आईपीएस: ५४ लाख ४१ हजारबाट बढेर ५६ लाख ३८ हजार (+३.६३%)
कारोबार रकममा पनि मोबाइल बैंकिङ नै अगाडि
संख्याका आधारमा मात्र नभई कारोबार रकमका आधारमा पनि मोबाइल बैंकिङ नै सबैभन्दा ठूलो माध्यम बनेको छ। २०८३ असारमा मोबाइल बैंकिङमार्फत ६ खर्ब ९६ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो वर्ष असारमा ५ खर्ब ३० अर्ब २८ करोड रुपैयाँ रहेकोमा यस वर्ष कारोबार रकम ३१.४ प्रतिशतले बढेको हो।
सोही अवधिमा क्यूआरमार्फत हुने कारोबार रकम ६७.७ प्रतिशतले बढेर १ खर्ब ८९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ (अघिल्लो वर्ष १ खर्ब १३ अर्ब २० करोड)। वालेटमार्फत हुने कारोबार रकम पनि ४८ अर्ब ४४ करोडबाट १९.८ प्रतिशतले बढेर ५८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
यसैगरी, क्रस–बोर्डर क्यूआरमार्फत हुने कारोबार रकममा १६२ प्रतिशतको उच्च वृद्धि भई ४४ करोड ६९ लाखबाट १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
एटीएम र डेबिट कार्डको प्रयोग घट्दो
डिजिटल माध्यमको विस्तारसँगै नागरिकहरूको झुकाव नगद छाडेर डिजिटलतर्फ सोहोरिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार एटीएम नगद निकासी र डेबिट कार्डको प्रयोगमा गिरावट आएको छ।
एटीएमबाट नगद झिक्ने कारोबार संख्या १ करोड १० लाख ७९ हजारबाट ९.८३ प्रतिशतले घटेर ९९ लाख ८७ हजारमा सीमित भएको छ। त्यस्तै, डेबिट कार्डमार्फत हुने कारोबार पनि १ करोड १९ लाख ७१ हजारबाट ११.८६ प्रतिशतले घटेर १ करोड ५ लाख ५५ हजारमा झरेको छ। पीओएस (POS) मार्फत हुने कारोबारमा भने ३२.३१ प्रतिशतको ठूलो गिरावट आएर ७ लाख ६९ हजारमा सीमित भएको छ।
समग्रमा, नेपालको भुक्तानी प्रणाली तीव्र गतिमा मोबाइल तथा क्यूआर-आधारित डिजिटल प्रणालीतर्फ उन्मुख भइरहेको राष्ट्र बैंकको तथ्यांकले स्पष्ट पारेको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




