नेप्सेमा ४३.८९ अंकको गिरावट, ३ अर्ब ६४ करोडकाे कारोबार

-



     सफल आवाज    
     भाद्र १५ गते २०८३ मा प्रकाशित



काठमाडौं, १५ भदाै । शेयर बजारमा निरन्तरको गिरावट कायम रहँदा साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ। पछिल्ला पाँच कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले सोमबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा झरेको छ। परिसूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ६.६८ अंक, फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंकले घटेका छन्।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा सोमबार ३४७ कम्पनीको ६८ हजार १३७ पटकको कारोबारमा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँबराबरको ९३ लाख २२ हजार कित्ता शेयर कारोबार भएको छ।

कमाउने र गुमाउने कम्पनीहरू

बजारमा व्यापक गिरावट आए पनि उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १३.१६ प्रतिशतले बढेको छ। त्यस्तै, घोराही सिमेन्ट इण्डष्ट्रीको शेयरमूल्य साढे ७ प्रतिशत र ७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशतले बढेको छ।

उता, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ। सो कम्पनीको शेयरमूल्य ४८ रुपैयाँ ७० पैसाले घटेर २७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। यसैगरी रसुवागढी हाइड्रोपावरको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

शीर्ष कारोबार हुने कम्पनीहरू

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स अग्रस्थानमा रह्यो। सो कम्पनीको २६ करोड ३८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। यस्तै, सर्वोत्तम पेन्ट्सको करिब १६ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ्ग मिल्सको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

उपसमूहगत अवस्था

कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक मात्र सामान्य अंकले सकारात्मक रह्यो भने बाँकी १२ उपसमूह घटेका छन्।

सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको परिसूचक ५.०३ प्रतिशतले घटेको छ। यस्तै, अन्य उपसमूह ३ प्रतिशतभन्दा बढी तथा होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।