शिवम् सिमेन्टद्वारा बाढीपीडितलाई ११ हजार बोरा सिमेन्ट र ११ लाख नगद सहयोग घोषणा

-



     सफल आवाज    
     भाद्र १६ गते २०८३ मा प्रकाशित



काठमाडौं, १६ भदाै। भदौ १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवासहितका विभिन्न क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि शिवम् सिमेन्ट लिमिटेडले विशेष सहयोगको घोषणा गरेको छ।

कम्पनीले नेपाल सरकारसँगको आवश्यक समन्वयमा बाढी प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि ११० घरधुरीलाई प्रतिपरिवार १०० बोराका दरले शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो। यस सहयोग अन्तर्गत कम्पनीले कुल ११ हजार बोरा सिमेन्ट वितरण गर्नेछ।

यसैगरी, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले पनि विपद्पछिको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ११ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

विपद्को यस कठिन परिस्थितिमा सरकार, स्थानीय निकाय तथा सम्बन्धित सरोकारवालाहरूसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन पुनःस्थापनाका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता कम्पनीले जनाएको छ। यस सहयोगले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास शिवम् सिमेन्टले व्यक्त गरेको छ।