
काठमाडौं, २१ भदाै। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)–२०२४/२५’ सम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार समीक्षा वर्षमा नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी (नेपाल भित्रिएको एफडीआई) रु. ७.५ अर्बमा सीमित भएको छ।
आर्थिक वर्ष २०२४/२५ मा कुल १२ अर्ब रुपैयाँ एफडीआई प्रवाह (Gross FDI Inflow) भएको थियो। तर लगानीकर्ताले लाभांश तथा लगानी फिर्ता (Repatriation) बापत लगानीको ३९.२ प्रतिशत अर्थात रु. ४.७ अर्ब फिर्ता लगेपछि खुद एफडीआई प्रवाह रु. ७.५ अर्ब कायम भएको हो।
खुद प्रवाहसँगै २०२५ जुलाईको मध्यसम्म नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात (FDI Stock) वार्षिक २.१ प्रतिशतले बढेर करिब रु. ३४० अर्ब पुगेको छ। चुक्ता पुँजीमा ९.२ प्रतिशत र सञ्चित कोषमा २.६ प्रतिशतको वृद्धि भएकाले एफडीआई मौज्दात बढेको राष्ट्र बैंकले जनाएको छ।
एफडीआई मौज्दातको बनोट र क्षेत्रगत अवस्था
- संरचनात्मक परिवर्तन: कुल एफडीआई मौज्दातमा चुक्ता पुँजीको हिस्सा ५४.२ प्रतिशत, सञ्चित कोषको ३६.९ प्रतिशत र ऋणको हिस्सा ८.९ प्रतिशत छ। अघिल्लो वर्षको तुलनामा ऋणको हिस्सा (१२.६%) घटेर इक्विटी (स्वपुँजी) को हिस्सा बढेकाले लगानीको ढाँचा थप सुदृढ भएको देखिन्छ।
- औद्योगिक क्षेत्रको बाहुल्य: औद्योगिक क्षेत्रले कुल एफडीआई मौज्दातको ५६.२ प्रतिशत हिस्सा ओगटेको छ। जसमध्ये:
- उत्पादनमूलक क्षेत्र: २७.८%
- विद्युत्, ग्यास तथा ऊर्जा क्षेत्र: २७.८%
- वित्तीय तथा बीमा सेवा: २६.३%
- सूचना तथा सञ्चार: ८.२%
- आवास तथा खाद्य सेवा (होटल/पर्यटन): ७.०%
राष्ट्र बैंकले वैदेशिक लगानी अझै सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको भन्दै अर्थतन्त्रमा फराकिलो प्रभाव पार्न लगानीको विविविधीकरण गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
भारत सबैभन्दा ठूलो लगानीकर्ता देश
नेपालले ६० भन्दा बढी देशबाट वैदेशिक लगानी प्राप्त गरे पनि कुल एफडीआई मौज्दातमा भारतको हिस्सा सबैभन्दा बढी ३२.८ प्रतिशत (चुक्ता पुँजीमा ५७.८ अर्ब) रहेको छ। भारतको लगानी खासगरी उत्पादनमूलक (३९.०%), विद्युत् तथा ऊर्जा (३१.९%) र वित्तीय क्षेत्र (२१.३%) मा केन्द्रित छ।
यस्तै, दोस्रो स्थानमा रहेको चीनको हिस्सा ९.३ प्रतिशत छ, जसको ठूलो भाग (७९.१%) जलविद्युत् एवं ऊर्जा क्षेत्रमा केन्द्रित छ। त्यसैगरी आयरल्यान्ड (७.३%), अस्ट्रेलिया (६.५%) र सिंगापुर (५.४%) शीर्ष ५ लगानीकर्ता देशका रूपमा रहेका छन्।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




