नेप्सेमा लगातार सुधार: परिसूचक २५६० विन्दुमा, कारोबार रू ३ अर्ब ८३ करोड नाघ्यो

-



     सफल आवाज    
     भाद्र २२ गते २०८३ मा प्रकाशित



काठमाडौं, २२ भदाै। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजारले यस दिन पनि सोही लयलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ४.४६ अंकले बढेको छ। यस्तै, फ्लोट इण्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंकले धकेलिएका छन्।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा सुधार आएको छ। गत बिहीबार ३ अर्ब ४६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएकोमा सोमबार ३५२ वटा कम्पनीका ९२ लाख ९८ हजार कित्ता सेयर ५० हजार ८४४ पटक कारोबार हुँदै ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

पियोर इनर्जीमा सकारात्मक सर्किट

सोमबारको कारोबारमा पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ९९ रुपैयाँ ३० पैसाले बढेर अन्तिम कारोबार ७६१ रुपैयाँ ३० पैसामा भएको छ।

त्यसैगरी, गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ भने श्रीनगर एग्रीटेक, कालिका लघुवित्त र सागर डिष्टिलरीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ।

यता, इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सका सेयरधनीहरूले भने गुमाएका छन्। यी तीनै कम्पनीको सेयर मूल्यमा सर्वाधिक १५ प्रतिशतको गिरावट दर्ता भएको छ।

रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहन सफल भएको छ। सो कम्पनीको २५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यस्तै, गरिमा विकास बैंकको करिब १८ करोड रुपैयाँ र सोलु हाइड्रोपावरको १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

११ उपसमूहमा हरियाली

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको सूचक बढेको छ भने दुई उपसमूहमा मात्र गिरावट आएको छ।

सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको परिसूचक २.०५ प्रतिशतले बढेको छ। यस्तै, बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। वित्त र व्यापार उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।