नबिल इन्भेष्टमेन्ट बैंकिङको १७औँ एजिएम असोज २० गते तय

-



     सफल आवाज    
     भाद्र २४ गते २०८३ मा प्रकाशित



काठमाडौं, २४ भदाै। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारण सभा आगामी असोज २० गते मङ्गलबार बोलाउने निर्णय गरेको छ। भदौ १८ गते बसेको सञ्चालक समितिको १३३ औँ बैठकले उक्त सभा डाक्ने निर्णय गरेको हो।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार साधारण सभा काठमाडौँको नारायणचौर, नक्सालस्थित सेन्ट्रल प्लाजाको तेस्रो तल्लामा बिहान ११ बजे सुरु हुनेछ।

सभामा सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गरिनेछ। बोनस सेयर जारी गरेपश्चात् कम्पनीको जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत सभामा लगिनेछ।

यसैगरी, नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा कुनै फेरबदल वा संशोधन गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव राखिएको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरूमाथि छलफल गरी स्वीकृत गरिनेछ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डामाथि निर्णय हुनेछ।