
काठमाडौं, २४ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो समय देशमा आएको भोटेकोशी बाढी र त्यसपछिको विपद्मा सरकारले गरेको उद्धार, राहत तथा प्रतिकार्यका कामबारे प्रतिनिधिसभालाई जानकारी गराउनुभएको छ।
संसद्को रोष्ट्रममा उभिएर १३ पृष्ठ लामो भारी मनसहितको सम्बोधन गर्दै उहाँले विपद्मा ज्यान गुमाउने नागरिकहरू सामान्य प्राकृतिक विपत्तिको शिकार मात्र नभएर “जलवायु अन्यायका पीडित” भएको बताउनुभयो।
सम्बोधनका क्रममा सभापति लामिछानेले प्रतिकूल भूगोलका बाबजुद ज्यानको बाजी लगाएर उद्धारमा खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, पाइलट तथा राष्ट्रसेवक कर्मचारी र स्वयंसेवकहरूको योगदानको प्रशंसा गर्नुभयो। विपद्का सुरुकै घण्टादेखि सरकारले सम्पूर्ण राज्य संयन्त्र परिचालन गरी उद्धार, उपचार र अस्थायी बसोबासको व्यवस्था मिलाएको उल्लेख गर्दै उहाँले यस संकटमा राज्य नागरिकको पक्षमा पूर्ण तत्परताका साथ उभिएको दाबी गर्नुभयो।
यसैगरी, लामिछानेले विपद्को घडीमा सत्ता र प्रतिपक्ष नभनी दलहरूले देखाएको राजनीतिक परिपक्वताको प्रशंसा गर्नुभयो। साथै, विपद्मा परेका पीडित नागरिकको स्वाभाविक आक्रोशलाई बुझ्न आग्रह गर्दै विपद्मा परेका मानिसमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी वा ‘साइबर बुलिङ’ गर्ने रास्वपाका कुनै पनि सदस्यलाई पार्टीबाट तत्काल निष्कासन गरिने चेतावनी दिनुभयो।
सम्बोधनको अन्त्यमा उहाँले नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा लगेर “जलवायु न्याय” र वित्तीय सहयोगका लागि ‘हिमाली जलवायु तथा विपद् आपत्काल’ सम्बन्धी विशेष संसदीय प्रस्ताव पारित गर्न संसद्समक्ष आह्वान गर्नुभयो।
सम्बोधनका मुख्य बुँदाहरू
- जलवायु अन्याय र क्षति: भदौ १० र तत्पश्चात्को विपद्मा ज्यान गुमाएका नागरिकहरू जलवायु अन्यायका शिकार हुन्। नेपालको विश्वव्यापी उत्सर्जनमा योगदान ०.१ प्रतिशतभन्दा कम भए तापनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य नेपाली नागरिकले चुकाउनुपरेको छ।
- सुरक्षाकर्मी र राष्ट्रसेवकको प्रशंसा: विपद्को समयमा ज्यानको प्रवाह नगरी भेल, पहिरो र अँध्यारा सुरुङभित्र छिरेर नागरिकको ज्यान बचाउने नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, पाइलट र राष्ट्रसेवक कर्मचारीहरूको उच्च सम्मान र प्रशंसा।
- सरकारको भूमिका र प्रतिकार्य: सरकारले सुरुकै घण्टादेखि सम्पूर्ण राज्य संयन्त्र, हवाई उद्धार, होल्डिङ सेन्टर र राहत वितरण परिचालन गरेको छ। संकटग्रस्त क्षेत्र घोषणा गरी क्षतिग्रस्त सडक, पुल, विद्युत् र खानेपानी पुनः सञ्चालन गर्ने काम भइरहेको छ।
- पीडितको आक्रोश र साइबर बुलिङमा शून्य सहनशीलता: सर्वस्व गुमाएका पीडित नागरिकको आक्रोश राज्य र नेतृत्वप्रतिको अपेक्षा हो। पीडितमाथि सामाजिक सञ्जालमा ओठे जवाफ फर्काउने वा साइबर बुलिङ गर्ने रास्वपाका कुनै पनि तहका सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिनेछ।
- राजनीतिक एकता र सहकार्य: विपद्को बेला आरोप-प्रत्यारोप र राजनीतिक रोटी सेक्ने काम बन्द हुनुपर्छ। सत्ता र प्रतिपक्षभन्दा माथि उठेर देखाइएको दलीय एकता राष्ट्रिय पुँजी हो।
- संसदीय प्रस्ताव र जलवायु कूटनीति:
- संसद्का दुवै सदनबाट “हिमाली जलवायु तथा विपद् आपत्काल (Himalayan Climate and Disaster Emergency)” सम्बन्धी विशेष संसदीय प्रस्ताव पारित गरी अन्तर्राष्ट्रिय मञ्चमा लैजानुपर्ने।
- Green Climate Fund (GCF) र Fund for Responding to Loss and Damage (FRLD) बाट न्यायोचित सहयोग पाउन पहल गर्ने।
- संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन महासन्धि (UNFCCC), COP र UN महासभामा जलवायु न्यायका लागि प्रभावकारी ‘जलवायु कूटनीति’ अपनाउने।
- स्वतन्त्र वैज्ञानिक अध्ययन र क्षति अभिलेख: विपद्मा जलवायु परिवर्तनको भूमिकाबारे अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्वतन्त्र वैज्ञानिक अध्ययन गराउने र त्यसका आधारमा औपचारिक क्षति तथा हानिको दाबीपत्र (Loss and Damage claim) तयार गर्ने।
- ऋण होइन, अनुदान आधारित सहयोग: पुनर्निर्माणका लागि पुनः ऋणको बोझ थप्नु अन्यायपूर्ण हुने भएकाले वैदेशिक जलवायु वित्त अनुदानका रूपमा आउनुपर्ने।
- संस्थागत क्षमता विकास: विपद्सँग जुध्न व्यक्तिभन्दा राज्यका सुरक्षा निकाय र ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ जस्ता संस्थाहरूको क्षमता अभिवृद्धि र स्थायित्व आवश्यक रहेको।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




