उद्योगमन्त्रीको अभिव्यक्तिप्रति महासंघको कडा आपत्ति

- उद्योगीको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने बयान दुःखद्

-



     सफल आवाज    
     भाद्र २५ गते २०८३ मा प्रकाशित



काठमाडौं, २५ भदाै । प्रतिनिधि सभाको उद्योग समितिमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले एलपी ग्यास आपूर्ति व्यवस्थाका विषयमा उद्योगी–व्यवसायीप्रति दिएको अभिव्यक्तिलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्री यादवले बैठकमा ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भनी दिएको बयानप्रति आपत्ति जनाउँदै महासंघले उक्त अभिव्यक्ति गैरजिम्मेवार, आपत्तिजनक र दुःखद् भएको ठहर गरेको छ।

भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गको पहिरोका कारण ग्यास बुलेट ढुवानीमा प्राकृतिक समस्या उत्पन्न भइरहेको संवेदनशील समयमा सम्पूर्ण उद्योगी–व्यवसायीलाई नै दोषी देखाउनु अनुचित भएको महासंघको भनाइ छ। विपद्का बेला सरकारसँग हातेमालो गर्दै राहत, उद्धार र अत्यावश्यक वस्तुको आपूर्तिमा खटिएका व्यवसायीको मनोबल गिराउने काम सरकारबाटै भएको महासंघले जनाएको छ।

‘निजी क्षेत्र सरकारको प्रतिस्पर्धी होइन, साझेदार हो’

ग्यास उद्योगको सङ्ख्या धेरै भएको र दुई वटाभन्दा बढी उद्योग आवश्यक नरहेको भन्ने मन्त्रीको धारणा यथार्थपरक नरहेको भन्दै महासंघले स्पष्ट पारेको छ। सरकार आफैँ उद्योग सञ्चालनमा उत्रिनुभन्दा पनि अभिभावकीय, नियामक र सहजकर्ताको भूमिकामा रहनुपर्नेमा महासंघको जोड छ। निजी क्षेत्रलाई प्रोत्साहित गर्दै प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको स्मरण गराइएको छ।

त्यस्तै, कानुन र विधेयक निर्माणका क्रममा निजी क्षेत्र र कर्मचारीतन्त्रबीच अनुचित मिलेमतो हुने गरेको भन्ने मन्त्रीको अभिव्यक्तिप्रति पनि महासंघले आपत्ति जनाएको छ। नीति-कानुन बनाउँदा प्रभावित क्षेत्रका सरोकारवालासँग परामर्श लिनु स्वाभाविक प्रक्रिया भएकाले यसलाई अनुचित प्रभावका रूपमा चित्रण गर्न नहुने महासंघको भनाइ छ।

नीतिगत सुधार र सहकार्यको माग

‘नेपालमा उद्योग चलाउन गाह्रो छ’ भन्ने मन्त्री स्वयम्‌को भनाइले विद्यमान चुनौतीलाई पुष्टि गरेको उल्लेख गर्दै महासंघले दोषारोपणभन्दा पनि नीतिगत, प्रशासनिक र पूर्वाधारगत सुधारमा ध्यान दिन आग्रह गरेको छ। स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी वस्तुको आयातमा कम्तीमा दुई तहको भन्सार महसुल फरक हुनुपर्ने माग पुनः दोहोर्‍याइएको छ।

वर्तमान आर्थिक संकटबाट मुलुकलाई बाहिर निकाल्न टकराव होइन संवाद, र अविश्वास होइन सहकार्य आवश्यक रहेको महासंघको ठहर छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म देशको आर्थिक समृद्धि र सामाजिक रूपान्तरण सम्भव नहुने भन्दै महासंघले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण बनाउन अपिल गरेको छ।