राजेश उपाध्यायलाई सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी

-



     सफल आवाज    
     भाद्र २६ गते २०८३ मा प्रकाशित



काठमाडौं, २६ भदाै। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षमा वरिष्ठ उपाध्यक्ष राजेश उपाध्याय चयन हुनुभएको छ।

निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त हुन पुगेको थियो।

मिति २०८३ भाद्र २५ गते बसेको सिबिफिन कार्यसमितिको बैठकले आसन्न वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्मका लागि वरिष्ठ उपाध्यक्ष उपाध्यायलाई संस्थाको नेतृत्व सम्हाल्ने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिने सर्वसम्मत निर्णय गरेको हो।

हाल महालक्ष्मी विकास बैंकका अध्यक्ष समेत रहनुभएका उपाध्याय नेपालको बैंकिङ, बिमा तथा वित्तीय सेवा क्षेत्रमा करिब २५ वर्षदेखि निरन्तर सक्रिय हुनुहुन्छ। अनुभवी व्यवसायी, कुशल रणनीतिकार र संस्थागत विकासका अभियन्ताका रूपमा परिचित उहाँले सिबिफिनको स्थापनाकालदेखि नै कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहेर संस्थाको सुदृढीकरणमा उल्लेख्य योगदान पुर्‍याउँदै आउनुभएको छ।

वर्तमान विषम आर्थिक परिस्थितिमा बैंकिङ क्षेत्रले सामना गरिरहेका नीतिगत तथा व्यावहारिक चुनौतीहरू समाधान गर्न उपाध्यायको समन्वयकारी र दूरदर्शी नेतृत्व महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। उहाँको लामो व्यावसायिक अनुभवले सिबिफिनलाई बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता अभिवृद्धि र दिगो विकासमा थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।