नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडकाे कारोबार

-



     सफल आवाज    
     भाद्र २६ गते २०८३ मा प्रकाशित



काठमाडौं, २६ भदाै। अघिल्ला दुई कारोबार दिन लगातार घटेको शेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुधारिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने घोषणा गरेसँगै बजारमा सकारात्मक प्रभाव परेको हो। अर्थमन्त्री वाग्लेले विगतका गैरजिम्मेवार गतिविधिका कारण बजारमा देखिएका समस्या समाधान गर्दै अवस्थालाई थप बिग्रन नदिने गरी नीतिगत सुधार अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४३ अंकले बढेका छन्।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ। बिहीबार ४ अर्ब ९ लाख रुपैयाँको शेयर कारोबार भएकोमा शुक्रबार ३४५ वटा स्टकको ४९ हजार ६ पटकको कारोबारमा ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

उपसमूह तथा शेयरमूल्यको अवस्था:

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक उकालो लागेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ। त्यस्तै, लगानी र निर्जीवन बीमा उपसमूह साढे १ प्रतिशतभन्दा बढी तथा विकास बैंक र व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले बढेका छन्।

  • सर्वाधिक कमाउने कम्पनीहरू: उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १०.५३ प्रतिशतले बढेको छ। अभियान लघुवित्तको शेयरमूल्य १० प्रतिशतभन्दा बढी र सिन्धु विकास बैंकको शेयरमूल्य साढे ९ प्रतिशतले बढेको छ।
  • सर्वाधिक गुमाउने कम्पनी: मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक ५.७१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा ३६ करोड ६६ लाख रुपैयाँको कारोबारसहित लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १८ करोड रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।