
काठमाडौं, ३० भदाै । धितोपत्र बजारलाई सुदृढ, आधुनिक, पारदर्शी र लगानीमैत्री बनाउँदै बजारमा देखिएको शिथिलता हटाउन अर्थ मन्त्रालयले ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ।
अर्थ मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा अर्थतन्त्रमा देखिएको सुस्तता र हालै भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजना एवं भौतिक पूर्वाधारमा पुगेको क्षतिले परेको थप चापलाई सम्बोधन गर्न यो कार्ययोजना ल्याइएको हो।
कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजार सुधार, नयाँ वित्तीय उपकरण, नेप्सेको पुनर्संरचना, गैरआवासीय नेपाली (NRN) को प्रवेश, कर प्रणाली सुधार र बैंक तथा वित्तीय संस्थाको लगानी पुनरावलोकन जस्ता महत्त्वपूर्ण विषय समेटिएका छन्।
कार्ययोजनाका प्रमुख प्राथमिकता तथा समयसीमा
| क्षेत्र / विषय | मुख्य नीतिगत व्यवस्था तथा सुधार | लक्ष्य (समयसीमा) |
| प्राथमिक बजार (IPO) | जलविद्युत्, पर्यटन, कृषि, औषधिलगायतका क्षेत्रका लागि विशिष्ट योग्यता, मूल्य अन्वेषण र बाँडफाँट प्रणालीमा सुधार | पुस मसान्त |
| नेप्से पुनर्संरचना | ‘अल इक्विटी इन्डेक्स’ कायम राखी तरलता, बजार पुँजीकरण र सुशासनका आधारमा नयाँ बेन्चमार्क इन्डेक्स सञ्चालन | मङ्सिर मसान्त |
| एनआरएन (NRN) प्रवेश | FITTA र विदेशी विनिमय ऐनमा संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरी दोस्रो बजारमा प्रवेश गराइने | असोज मसान्त |
| विशिष्टीकृत ऋणपत्र | हरित, विपद्, सामाजिक, र पर्यावरण ऋणपत्र सञ्चालन; ट्रेजरी बिल र विकास ऋणपत्रको कारोबार शुल्क पुनरावलोकन | असोज मसान्त |
| शेयर स्प्लिट र बाइब्याक | सूचीकृत कम्पनीहरूले शेयर विभाजन (Split) र आफ्नै शेयर खरिद (Buyback) गर्न सक्ने व्यावहारिक वातावरण निर्माण | माघ मसान्त |
| मार्जिन कारोबार | अनुमतिप्राप्त ब्रोकरमार्फत मार्जिन ऋण लिएर शेयर खरिद गर्न सकिने व्यवस्था पूर्ण रूपमा सञ्चालन | पुस मसान्त |
| संस्थागत लगानीकर्ता | सञ्चय कोष, CIT, SSF, बीमा कम्पनी र म्युचुअल फन्डको लगानी पोर्टफोलियो पुनर्तालिकीकरण | मङ्सिर मसान्त |
| प्राइभेट इक्विटी र भेन्चर क्यापिटल | स्टार्टअप, नवप्रवर्तन र SME क्षेत्रका लागि जोखिममा आधारित नियामकीय ढाँचा तथा बाहिरिने प्रक्रिया सहज बनाइने | पुस मसान्त |
| नियमन पुनरावलोकन | नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डद्वारा बैंक तथा वित्तीय संस्थाको पुँजी बजार लगानी सीमा, जोखिम भार र धितो पर्याप्तताको पुनरावलोकन | कात्तिक मसान्त |
कर प्रणालीमा सुधार र लगानी सुरक्षाका नयाँ प्रावधान
- कर सहुलियत: दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न ३६५ दिनभन्दा बढी अवधि स्वामित्व रहेका शेयरको लाभमा ३.७५ प्रतिशत र सोभन्दा कम अवधिमा ५ प्रतिशत पुँजीगत लाभकर कायम गर्ने प्रस्ताव गरिएको छ।
- घाटा समायोजन र खुद लाभकर: सूचीकृत धितोपत्रको नोक्सानीलाई सोही आय वर्षको लाभसँग समायोजन गर्न पाउने र खुद लाभमा मात्र अन्तिम कर लिने व्यवस्थाका लागि अध्ययन गरिनेछ।
- बैंक लगानीमा सीमा: बैंक तथा वित्तीय संस्थाले दोस्रो बजारमा गर्ने लगानीमा ‘स्पेकुलेटिभ रिस्क’ न्यूनीकरण गर्न सञ्चालक समितिले कम्तीमा ४५ दिनको आवधिक सीमा तोक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउनेछ।
- सिडीएससी क्षमता अभिवृद्धि: नयाँ वित्तीय सेवा सहज रूपमा सञ्चालन गर्न सिडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) को संस्थागत सुधार अध्ययन फागुन मसान्तभित्र सम्पन्न गरिनेछ।
अर्थ मन्त्रालयले तोकिएको निश्चित समयसीमाभित्र कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरी बैंकमा आधारित वित्तीय प्रणालीलाई बजारमा आधारित प्रणालीतर्फ लैजाने र लगानीकर्ताको विश्वास पुनःस्थापना गर्ने लक्ष्य राखेको छ।








काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने…
काठमाडौं, ७ मंसिर। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीचको सम्बन्ध हिमालय… 




