सरकारी ढुकुटीमा साढे ३ खर्ब थुप्रिँदा विकास निर्माण ठप्प: बजेट खर्च क्षमतामाथि गम्भीर प्रश्न

-



     सफल आवाज    
     असाेज ६ गते २०८३ मा प्रकाशित



काठमाडौं, ६ असाेज। बजारमा मागको अभावले निजी क्षेत्र थप्प छ, उद्योगी-व्यवसायी नयाँ लगानीका लागि बैंकबाट ऋण लिन हिचकिचाइरहेका छन् भने निर्माण व्यवसायीहरूले काम गरेको भुक्तानी पाउन सकेका छैनन्।

तर, अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने मुख्य दायित्व बोकेको सरकार भने आफूसँग पैसाको अभाव नरहेको तथ्याङ्क बोकेर बसेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मसान्तसम्ममा सरकारी ढुकुटीमा रु. ३ खर्ब ६१ अर्ब ८१ करोड नगद मौज्दात थुप्रिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार, स्रोतको प्रचुरता हुँदाहुँदै पनि सरकारको विकास खर्च भने निराशाजनक छ।

विकास खर्चको बिजोग: दिनको ४ करोड पनि पुगेन

साउन महिनामा सरकारले ९२ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गर्दा कुल खर्च भने मात्र ४१ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ। यो अघिल्लो वर्षको साउनको तुलनामा ९.५ प्रतिशतले कम हो।

भए-भरको खर्चमध्ये ठूलो हिस्सा प्रशासनिक (चालु) खर्चमा २१ अर्ब ४० करोड र ऋणको साँवा-ब्याज भुक्तानी (वित्तीय व्यवस्था) मा १९ अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ। तर, पूर्वाधार र विकास निर्माणका काममा जाने पुँजीगत खर्च भने जम्मा १ अर्ब ३३ करोड रुपैयाँ मात्रै छ। अर्थात्, साउनको कुल सरकारी खर्चको करिब ३ प्रतिशत रकम मात्रै विकास आयोजनाहरूमा पुगेको छ। यसलाई दैनिक हिसाब गर्दा देशभरका विकास आयोजनामा सरकारले दैनिक औसतमा रु. ४ करोड २९ लाख मात्रै खर्च गरेको देखिन्छ।

प्रदेशको अवस्था झन् दयनीय

संघीय सरकार मात्र होइन, प्रदेश सरकारहरूको खर्च गर्ने गति झन् शून्यप्रायः छ। सातवटै प्रदेशले साउन महिनामा ६ अर्ब ५५ करोड रुपैयाँ स्रोत परिचालन गर्दा जम्मा १ करोड ४० लाख रुपैयाँ मात्रै खर्च गर्न सकेका छन्।

बैंकमा पैसा, बजारमा निराशा

सरकारी ढुकुटीमा पैसा थुप्रिएजस्तै बैंकिङ प्रणालीमा पनि लगानीयोग्य रकम (तरलता) पर्याप्त छ। तर, निजी क्षेत्रबाट कर्जाको माग छैन। साउन महिनामा निजी क्षेत्रतर्फको कर्जा विस्तार ०.४ प्रतिशतमा खुम्चिएको छ।

जब बजारमा निजी क्षेत्र लगानी गर्न हिचकिचाउँछ, तब सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रमा पैसा पठाउनुपर्ने हुन्छ। तर सिमेन्ट, छड, ढुवानी र श्रम बजारलाई चलायमान बनाउने सरकारी बजेट नै ढुकुटीमा थन्किँदा समग्र अर्थतन्त्र सुस्त बनेको छ।

पुनः ‘असारे विकास’कै जोखिम

साउनको यो तथ्याङ्कले नेपालको पुरानै रोग ‘वर्षको सुरुमा चुपचाप बस्ने र जेठ-असारमा बजेट सक्याउन हतारिने’ प्रवृत्तिले निरन्तरता पाउने जोखिम बढाएको छ। आर्थिक वर्षको सुरुमै आयोजना, ठेक्का र भुक्तानी प्रक्रिया अघि नबढाउँदा वर्षको अन्त्यमा गुणस्तरहीन खर्च हुने खतरा कायमै छ।

सारमा, वर्तमान वित्तीय अवस्थाले प्रस्ट पारेको छ-नेपालको अर्थतन्त्रको मूल समस्या ‘पैसाको अभाव’ होइन, ‘पैसा खर्च गर्न सक्ने सरकारी क्षमता र प्रणालीको अभाव’ हो।