जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ: महासचिव गुटेरेस

-



     सफल आवाज    
     असाेज ७ गते २०८३ मा प्रकाशित



काठमाडौं, ७ असोज। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा श्रृङ्खलाबद्ध रूपमा गइरहेका जलवायुजन्य विपद्हरूले जलवायु सङ्कटको भयावह जोखिमलाई पुष्टि गरेको बताउँदै विश्व समुदायको ध्यान आकृष्ट गराउनुभएको छ।

राष्ट्रसङ्घको ८१औँ महासभाको साधारण सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धि भई नेपालसहितका हिमाली मुलुकहरू गम्भीर सङ्कटमा परेको बताउनुभयो। हिमनदी तीव्र गतिमा पग्लिने क्रम नरोकिए विश्वले अझै ठूलो विपत्ति झेल्नुपर्ने चेतावनी उहाँले दिनुभयो।

नेपालको भोटेकोशीमा आएको बाढीजस्ता घटनाले जलवायुजन्य समस्यालाई वास्तविकतामा परिणत गरेको उल्लेख गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “तीन वर्षअघि नेपालको हिमालबाट मैले ‘विश्वको छाना भत्किँदै गएको’ चेतावनी दिएको थिएँ। त्यतिबेलाको चेतावनीलाई अतिरञ्जित ठान्नेहरू भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको छ।”

उहाँले जलवायु सङ्कट अब भविष्यको त्रास मात्र नरहेर वर्तमानको वास्तविक चुनौती बनिसकेको स्पष्ट पार्नुभयो। विश्वव्यापी कार्बन उत्सर्जनमा शून्यप्रायः योगदान रहेका नेपालजस्ता मुलुकहरूले नै यसको ठूलो मूल्य चुकाउनु परेकोमा दुःख व्यक्त गर्दै उहाँले ‘जलवायु न्याय’ (Climate Justice) को जोडदार माग गर्नुभयो।

प्रदूषण गर्ने प्रमुख औद्योगिक राष्ट्रहरूले नै यसको मूल्य तिर्नुपर्ने र प्रभावित जोखिमयुक्त मुलुकहरूले क्षतिपूर्ति तथा वित्तीय सहयोग पाउनुपर्ने उहाँको भनाइ थियो।

जलवायु परिवर्तनका कारण हुने हानि-नोक्सानी सम्बोधन गर्न गठित ‘हानि तथा क्षति कोष’ (Loss and Damage Fund) मा पर्याप्त रकम नरहेकोप्रति चिन्ता जनाउँदै महासचिव गुटेरेसले विकसित मुलुकहरूलाई जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्न, अनुकूलन वित्तलाई तीन गुणाले बढाउन र कोषमा थप स्रोत परिचालन गर्न आह्वान गर्नुभयो।