नेप्सेमा ब्रेक: परिसूचक ३६.२५ अङ्कले घट्यो, कारोबार रकम ६ अर्ब ३५ करोडमा सीमित

-



     सफल आवाज    
     असाेज ७ गते २०८३ मा प्रकाशित



काठमाडौं, ७ असोज। लगातार तीन कारोबार दिनदेखि भइरहेको वृद्धिमा ब्रेक लाग्दै साताको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक ३६.२५ अङ्कले घटेर २६१८.०३ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ६.३३ अङ्क, फ्लोट इण्डेक्स २.६० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ अङ्कले ओरालो लागेका छन्।

बजार घट्दा कारोबार रकममा समेत गिरावट आएको छ। मङ्गलबार ७ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा बुधबार ३५२ वटा स्क्रिपका ५७ हजार ९४७ पटकको कारोबारमा २ करोड १६ लाख २२ हजार कित्ता शेयर ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँमा किनबेच भएका छन्।

धौलागिरी लघुवित्तमा सकारात्मक सर्किट

घट्दो बजारमा पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य प्रतिकिल्ला १७५ रुपैयाँले बढेर १ हजार ३४१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको हो। अन्य बढेका स्टकहरूको मूल्य वृद्धिदर भने साढे ५ प्रतिशतभन्दा कमै रह्यो। यता, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक ८.५४ प्रतिशत गुमाएका छन्।

कारोबारमा शिवम् सिमेन्ट्स अगाडि

कारोबार रकमका आधारमा ३८ करोड ३४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गर्दै शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र हिमालयन डिष्टिलरीको साढे २० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

सबै उपसमूह राताम्मे

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूह सर्वाधिक २.०४ प्रतिशतले घटेको छ। त्यसैगरी बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।