तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आह्वान

-



     सफल आवाज    
     असाेज ९ गते २०८३ मा प्रकाशित



काठमाडौं, ९ असाेज। आगामी तीन दिन देशभरको मौसम बदली भई अधिकांश स्थानमा मध्यमदेखि अति भारी वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनेछ।

असोज ९ गते (शुक्रबार)

  • दिउँसो: देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भू-भागमा वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्छ। मधेश र तराईका भू-भागमा हावाहुरीको समेत सम्भावना छ।
  • राति: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा तथा हिमपात जारी रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको जोखिम रहेको छ।

असोज १० गते (शनिबार)

  • दिउँसो: देशभर बादली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। तराईका भू-भागमा हावाहुरी चल्नसक्छ।
  • राति: बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मौसम बदली रहनेछ। यी प्रदेशका थोरै स्थानका साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

असोज ११ गते (आइतबार)

  • दिउँसो: पश्चिम र मध्य क्षेत्रमा अधिकांश बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
  • राति: मौसममा क्रमिक सुधार आउने देखिए पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षा जारी रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुनसक्छ।

विशेष सतर्कता चेतावनी: भारी तथा अति भारी वर्षाका कारण पहाडी तथा हिमाली भू-भागमा पहिरो र गेग्रान बहाव (debris flow) को जोखिम रहने र तराईका भू-भागमा सहरी तथा तटीय क्षेत्रमा डुबानको जोखिम रहेकाले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।