कोरलामा बेमौसमी हिमपात: यातायात र तटीय क्षेत्रमा उच्च सतर्कता, रात्रिकालीन यात्रामा रोक

-



     सफल आवाज    
     असाेज ९ गते २०८३ मा प्रकाशित



मुस्ताङ, ९ असाेज। नेपाल–चीन उत्तरी सीमावर्ती कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। समुद्री सतहबाट चार हजार ६१० मिटरको उचाइमा अवस्थित यस क्षेत्रमा बिहीबार रातिदेखि परेको हिउँका कारण नाका वरपरका डाँडाकाँडा सेताम्मे भएका छन्।

हिमपातका कारण कोरलानाकामा आयात–निर्यातमा खटिएका कन्टेनर तथा ढुवानीका साधनको आवतजावत प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मुस्ताङमा निरन्तर भइरहेको वर्षासँगै उपल्लो नाका क्षेत्रमा हिमपात भएको हो।

लोमान्थाङ आसपासका बस्तीहरूमा भारी वर्षा हुनुका साथै उपल्लो लेकाली क्षेत्रमा आंशिक हिमपात भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए। बर्सेनि हिउँदमा हिमपात हुने गरे पनि यसपटक असोज महिनामै हिमपात भएपछि सो क्षेत्रमा चिसो अत्याधिक बढेको छ।

राति यात्रा गर्न रोक र उच्च सतर्कता

मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वसूचना अनुसार चार दिनसम्म भारी वर्षा र हिमपातको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मुस्ताङले पूर्वसावधानी अपनाउन आग्रह गरेको छ।

  • यातायातमा रोक: बाढीपहिरो र नदी कटानको जोखिमलाई ध्यानमा राख्दै काभ्रेभिरदेखि उपल्लो मुस्ताङसम्मका सडकमा यात्रा नगर्न सूचित गरिएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि बिहीबार रातिदेखि आगामी चार दिनसम्म साँझ ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म रात्रिकालीन यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एकराज भण्डारीले बताए।
  • तटीय क्षेत्रमा माइकिङ: कालीगण्डकी नदीमा बहाव बढेर जोखिम निम्तन सक्ने भन्दै घरपझोङ गाउँपालिकाले शुक्रबारदेखि माइकिङ गरी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

माटो र ढुङ्गाका घर जोखिममा

लगातारको वर्षाका कारण मुस्ताङका परम्परागत माटो र ढुङ्गाले बनेका घरहरूमा क्षति पुग्ने जोखिम बढेको छ। घरपझोङ–५ ठिनीकी स्थानीय सरिता थकालीका अनुसार पुराना घरहरूमा पानी चुहिने र भत्किने डर भएकाले स्थानीयबासीले घरको छत र गारो प्लास्टिक तथा त्रिपालले ढाकेर सुरक्षित गर्ने प्रयास गरिरहेका छन्।