
काठमाडाैं, १० असाेज । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा सांग्रिला ऊर्जा लिमिटेडद्वारा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाका लागि ९ अर्ब रुपैयाँ ऋण लगानीको टुंगो लागेको छ।
माछापुच्छ्रे बैंकको अगुवाइमा प्रभु बैंक, लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंकसहितको कन्सोर्टियमसँग वित्तीय व्यवस्थापन (सहवित्तीयकरण ऋण) सम्झौता सम्पन्न भएको हो।
आयोजनाको कुल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ, जसमा ९ अर्ब ऋण र बाँकी ३ अर्ब रुपैयाँ प्रवर्द्धक तथा संस्थापक समूहको इक्विटी (स्वपुँजी) मार्फत जुटाइनेछ।
कुल लागतका आधारमा यसको प्रतिमेगावाट लागत करिब १९ करोड रुपैयाँ पर्न आउँछ। आयोजनामा घलेम्दी हाइड्रो लिमिटेडको प्रमुख सेयरधनीका रूपमा करिब १ अर्ब १० करोड रुपैयाँ लगानी रहेको छ।
आयोजनाको मुख्य विशेषता तथा वित्तीय अवस्था:
- उत्पादन र सञ्चालन: ४ घण्टा अर्धजलाशययुक्त (PROR) स्वरूपको यो आयोजनाबाट वार्षिक ३७ करोड १८ लाख युनिट विद्युत उत्पादन हुनेछ। सुख्खायाममा पनि आयोजना ४ घण्टा पूर्ण क्षमतामा सञ्चालन हुने गरी डिजाइन गरिएको छ।
- वित्तीय प्रतिफल: सञ्चालनको पहिलो वर्ष २ अर्ब २७ करोड रुपैयाँ आम्दानी हुने र नवौँ वर्षसम्म पुग्दा वार्षिक आम्दानी २ अर्ब ८४ करोड पुग्ने प्रक्षेपण छ। आयोजनाको इक्विटीमा प्रतिफल (ROE) २५.६७%, आन्तरिक प्रतिफल दर (IRR) १५.४७%, खुद वर्तमान मूल्य (NPV) ५ अर्ब ३३ करोड र पेब्याक अवधि ५.७३ वर्ष रहने अनुमान गरिएको छ।
- पूर्वाधार विकास: आयोजनाको विद्युत ५५ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको शीतलपाटी सबस्टेशनमा जोडिनेछ। यो प्रसारण लाइन अन्य आयोजनाहरूसँगको साझेदारीमा निर्माण गरिनेछ।
- भौतिक प्रगति: आयोजनाको १४ किलोमिटर पहुँचमार्ग र क्याम्प निर्माण भइसकेको छ। रूख कटानको काम सकिएकाले ‘एक रूख बराबर १० रूख’ नीतिका लागि वन तथा भू–संरक्षण विभागलाई ३ करोड ६३ लाख रुपैयाँ बुझाइएको छ।
अत्यधिक उचाइ (९०० मिटरभन्दा बढी हेड) र भूमिगत विद्युतगृह रहने भएकाले संरचना निर्माणमा कम लागत लाग्ने तथा बाढी/विपद्को जोखिम कम रहने प्रवर्द्धकको दाबी छ।
नेपाल विद्युत प्राधिकरणसँग पीपीए (विद्युत खरिद सम्झौता) भइसकेको यस आयोजनाको वित्तीय व्यवस्थापनसँगै मुख्य स्रोत सुनिश्चित भएको छ। साथै, प्रवर्द्धक सांग्रिला ऊर्जाले बाजुरामा १७१ मेगावाटको छिम्दी–कवाडी खोला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययनसमेत अघि बढाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




