अमुदी फुड्सले उत्पादन क्षमता बढाउदै, आइपीओ जारी गर्ने

-



     सफल आवाज    
     असाेज ११ गते २०८३ मा प्रकाशित



काठमाडौं, ११ असाेज । नेपाली खाद्य उद्योगमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको अमुदी फुड्स लिमिटेडले उत्पादन विविधीकरण, उत्पादन क्षमता विस्तार र पूँजी सुदृढीकरणलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी व्यावसायिक योजना अघि सारेको छ।

काठमाडौँको कोटेश्वरमा प्रधान कार्यालय र भरतपुर-१२, चितवनमा कारखाना रहेको यस कम्पनीमा हाल ११५ जना कर्मचारी कार्यरत छन्। कम्पनीले ‘यू एण्ड मी’ (U N Me) ब्रान्डअन्तर्गत विभिन्न स्न्याक्स, दालमोठ तथा नुडल्स उत्पादन गर्दै आएको छ।

उत्पादन क्षमता र बजार विस्तारको योजना

हाल ‘यू एण्ड मी’ ब्रान्डअन्तर्गत चिज रिङ्स, आलु क्र्याकर, पोमेस, चिज बल्स, अकबरे, फायर बल्स, ट्याङ्गी टोमेटोलगायतका स्न्याक्सका साथै मिक्स्ड दालमोठ, प्लेन भुजिया, नुनिलो बदाम, एनिटाइम दालमोठ, मुंग दाल र आलु भुजिया बजारमा उपलब्ध छन्।

कम्पनीले आगामी चरणमा समर्पित नुडल्स उत्पादन प्लान्ट स्थापना गरी उत्पादन क्षमता र पोर्टफोलियो विस्तार गर्ने तयारी गरेको छ। यसका लागि जग्गा विकास, भवन संरचना, मेसिनरी तथा कार्यशील पूँजीमा थप लगानी गर्ने योजना बनाइएको छ।

दीर्घकालीन वित्तीय लक्ष्य र प्रक्षेपण

कम्पनीले प्रस्तुत गरेको वित्तीय प्रक्षेपण अनुसार आर्थिक वर्ष २०८२/८३ मा करिब रु ८.४१ करोडको बिक्री आम्दानी हुने अनुमान छ, जसलाई आर्थिक वर्ष २०८६/८७ सम्म रु ६८.४१ करोड पुर्‍याउने लक्ष्य राखिएको छ। सोही अवधिमा खुद नाफा रु २८.८ लाखबाट वृद्धि भई रु ५.३२ करोड पुग्ने प्रक्षेपण गरिएको छ।

तथापि, आर्थिक वर्ष २०८३/८४ मा रु १४ करोडको जग्गा बिक्रीबाट प्राप्त हुने एकपटकको (one-time) आम्दानीका कारण उक्त वर्षको प्रतिसेयर आम्दानी (EPS) असामान्य रूपमा उच्च देखिने भएकाले कम्पनीको वास्तविक व्यावसायिक प्रगति बुझ्न नियमित व्यवसायको आम्दानीलाई छुट्टै हेर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ।

१० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउने

अमुदी फुड्सले पूँजी ढाँचालाई बलियो बनाउँदै सार्वजनिक निष्कासन (IPO) मार्फत सर्वसाधारणलाई सहभागी गराउने तयारी अघि बढाएको छ। कम्पनीको प्रस्तावित जारी पूँजी रु ४२ करोड रहनेछ, जसमा प्रवर्द्धक समूहको रु ३२ करोड (७६.१९%) र सर्वसाधारणका लागि रु १० करोड (२३.८१%) बराबरको सेयर रहनेछ।

निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकिएको छ भने क्रेडिट रेटिङका लागि केयर रेटिङ नेपालसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ। नयाँ नुडल्स प्लान्ट, उत्पादन विविधीकरण र प्रस्तावित आइपीओले कम्पनीको आगामी व्यावसायिक यात्रालाई थप उचाइ दिने अपेक्षा गरिएको छ।