
काठमाडौं, १४ असोज । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूलाई प्रशासनिक तथा राजनीतिक कार्यमा मात्र सीमित नराखी व्यापार, लगानी र उद्योग प्रवर्द्धनको सक्रिय केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल चेम्बर अफ कमर्सको सचिवालय जमलमा मङ्गलबार एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (AIDEA) का विद्यार्थीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले सो धारणा राखेका हुन्। नेपालको आर्थिक हित प्रवर्द्धनका लागि कूटनीतिक संयन्त्रलाई थप सशक्त बनाउँदै निर्यात प्रवर्द्धन, विदेशी लगानी आकर्षण र नयाँ अन्तर्राष्ट्रिय बजारको खोजीमा लाग्नुपर्ने उनको भनाइ थियो।
अन्तरक्रियाका क्रममा अध्यक्ष अग्रवालले उठाएका प्रमुख विषयहरू:
- कूटनीतिक नियोगको भूमिका: विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूले सम्बन्धित देशका लगानीकर्ता, व्यवसायी र व्यापारिक समुदायसँग प्रत्यक्ष सम्पर्क बढाएर ‘ट्रेड, इन्भेस्टमेन्ट एन्ड टुरिजम प्रमोसन’ लाई प्राथमिकता दिनुपर्ने। डिजिटल माध्यमको प्रयोगका साथै विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पूँजी र सञ्जाललाई नेपालको विकासमा सदुपयोग गर्नुपर्ने।
- प्रधानमन्त्रीको भ्रमण र आर्थिक कूटनीति: प्रधानमन्त्रीको हालैको संयुक्त राष्ट्रसङ्घ महासभा सम्बोधन तथा अन्तर्राष्ट्रिय भ्रमणले नेपालको आर्थिक सम्भावना र राष्ट्रिय हितका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको भन्दै उनले प्रशंसा गरे।
- एलडीसी स्तरोन्नति र अन्तर्राष्ट्रिय व्यापार: नेपाल अति कम विकसित मुलुक (LDC) बाट स्तरोन्नति हुँदा उत्पन्न हुने चुनौतीसँग डराउनुको सट्टा अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने बताए। नेपालको कुल व्यापारमा भारतको करिब ६५ प्रतिशत र चीनको करिब १५ प्रतिशत हिस्सा रहेको उल्लेख गर्दै दुवै छिमेकीसँगको व्यापार प्रवर्द्धनका साथै अन्य मुलुकहरूसँग पनि व्यापारको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए।
- आर्थिक लोकतन्त्रको आवश्यकता: मुलुकमा राजनीतिक लोकतन्त्र स्थापित भए पनि आम नागरिकले रोजगारी, उद्यमशीलता र समृद्धिको समान पहुँच पाउने ‘आर्थिक लोकतन्त्र’ अझै प्राप्त हुन नसकेको टिप्पणी गरे।
- उत्पादन लागत र निर्यात प्रोत्साहन: नेपालमा उत्पादन लागत उच्च भएकाले नेपाली वस्तुहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको भन्दै सरकारले विद्युत्, पूर्वाधार, कर तथा वित्तीय पहुँचमा सुधार गरी निर्यातकर्तालाई आवश्यक अनुदान र सहुलियत दिनुपर्ने माग गरे।
- रेमिट्यान्स र वैदेशिक रोजगारी: वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्ने र वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सीप विकास तथा प्रमाणीकरणमा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा विद्यार्थीहरूले एलडीसी स्तरोन्नति, आर्थिक कूटनीति, रेमिट्यान्स, वैदेशिक रोजगारी र निजी क्षेत्रका चुनौतीबारे जिज्ञासा राखेका थिए। जवाफमा अध्यक्ष अग्रवालले नेपालको समग्र आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र, कूटनीतिक संयन्त्र र युवा पुस्ताबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गरे।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




