ऊर्जा संरचना पुनर्निर्माणमा करिब ४ खर्ब लाग्ने आकलन

-



     सफल आवाज    
     असाेज १४ गते २०८३ मा प्रकाशित



काठमाडौं, १४ असोज । भोटेकोशी र त्रिशूली नदीमा हालै आएको बाढीका कारण जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेको छ। प्रभावित ऊर्जा संरचनाहरूको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि करिब ३ खर्ब ९० अर्ब रुपैयाँसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार जलवायु परिवर्तनका कारण बढ्दै गएका मौसमी तथा जलवायुजन्य विपद्ले देशको ऊर्जा र जलस्रोत क्षेत्रमा गम्भीर असर पारेको छ।

१० प्रतिशत विद्युत् उत्पादन ठप्प

मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले बाढीबाट प्रभावित ऊर्जा संरचनाको प्रारम्भिक लगानी मूल्य करिब १ खर्ब २४ अर्ब रुपैयाँ भए तापनि भौगोलिक अवस्था, संरचनागत परिवर्तन, मूल्यवृद्धि तथा नदीको बढेको सतहका कारण पुनर्निर्माणमा करिब ३ खर्ब ९० अर्ब रुपैयाँ खर्च हुने बताउनुभयो।

नेपालको कुल जडित विद्युत् क्षमता करिब ३,३०० मेगावाट रहेकोमा बाढीका कारण ४३० मेगावाट (कुल क्षमताको करिब १० प्रतिशत) विद्युत् उत्पादन सेवाबाट बाहिरिएको छ। यसबाहेक निर्माणाधीन अवस्थामा रहेका ७५९ मेगावाट क्षमताका आयोजनाहरूमा पनि बाढीले प्रत्यक्ष क्षति पुर्‍याएको छ।

चिलिमे हब र त्रिशूली ‘३ बी’ हब स्टेसन पूर्ण रूपमा बगेका कारण उत्पादन सुचारु भए पनि १७६ मेगावाट विद्युत् प्रसारण प्रणालीमा जोड्न सकिएको छैन।

जलवायुजन्य विपद्को जोखिम र जनधनको क्षति

गत भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीका साथै सन् २०२४ मा सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढी र २०२५ को भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा निरन्तर क्षति पुर्‍याइरहेको छ।

नेपालमा २१, चीनको तिब्बतमा २५ र भारतमा १ गरी कुल ४७ वटा जोखिमयुक्त हिमताल रहेकाले तल्लो तटीय क्षेत्रमा निरन्तर जोखिम कायम छ। हालै असोज ८ देखि ११ गतेसम्म भएको अत्यधिक वर्षाका कारण उत्पन्न बाढी-पहिरोमा परी २७ जनाको मृत्यु भएको छ भने १,०८२ जना घाइते भएका छन्। सो अवधिमा ३०४ वटा पहिरो र ८७ वटा बाढीका घटना दर्ता भएका छन्।

जलविद्युत्‌का अतिरिक्त सिँचाइ क्षेत्रतर्फ पनि कुलो तथा पूर्वाधारमा गरी करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको मन्त्रालयको अनुमान छ।

ऊर्जा लक्ष्य र जलवायु वित्तको चुनौती

सरकारले सन् २०३० सम्म १४,००० मेगावाट र सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य (NDC-3) राखेको छ। तर, बारम्बार आउने यस्ता विपद्ले लक्ष्य प्राप्तिमा चुनौती थपेको छ। हिउँदमा नदीको बहाव घट्दा जडित क्षमताको २५ देखि ३३ प्रतिशत मात्र विद्युत् उत्पादन हुने भएकाले जलाशययुक्त र सौर्य ऊर्जा आयोजनाको विकास आवश्यक रहेको सहसचिव आचार्यले औँल्याउनुभयो।

जलवायु योजना कार्यान्वयनका लागि वित्तीय स्रोतको अभाव मुख्य चुनौतीका रूपमा रहेको छ। आउँदो नोभेम्बर ९ देखि २० सम्म टर्कीमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (COP-31) मा नेपालले भोगिरहेको यो नोक्सानी र जलवायु वित्तको आवश्यकतालाई प्रमुखताका साथ उठाउने मन्त्रालयको तयारी छ।

यसैगरी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नायब कार्यकारी निर्देशक नारायण अधिकारीले हुम्ला, डोल्पा र गोरखाको चुमनुब्री जस्ता दुर्गम क्षेत्रका लघु जलविद्युत् आयोजनामा क्षति पुगेको र बजेट अभावका कारण मर्मत तथा पुनःस्थापनामा कठिनाइ भइरहेको बताउनुभयो।