
काठमाडौं, १४ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन तथा गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानुनी सुधारको अन्तिम तयारीमा रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री तिमिल्सिनाले उक्त कुरा बताउनुभएको हो।
सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा हुने भ्रामक प्रचारलाई सम्बोधन गर्न ‘आमसञ्चार विधेयक’ र ‘प्रेस काउन्सिल विधेयक’ तर्जुमाको क्रममा रहेको र तिनलाई छिट्टै संसदमा पेस गरिने उहाँले जानकारी दिनुभयो।
३ लाखभन्दा बढी बेटिङ साइट र एप बन्द
सञ्चारमन्त्री डा. तिमिल्सिनाले साइबर ठगी नियन्त्रणका लागि सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो र नेपाल दूरसञ्चार प्राधिकरणबीच तीव्र समन्वय भइरहेको बताउनुभयो। अनलाइन जुवा (बेटिङ) नियन्त्रणतर्फ उल्लेख्य प्रगति भएको जानकारी दिँदै उहाँले प्राधिकरणमार्फत हालसम्म ३ लाख ५ हजारभन्दा बढी ‘युनिक बेटिङ साइट’ तथा एपहरू पहिचान गरी बन्द गराइएको सदनलाई गराउनुभयो।
फेक अकाउन्ट र गोपनीयताको हनन्मा कडा कारबाही
सामाजिक सञ्जालमा नक्कली (फेक) अकाउन्ट बनाएर चरित्र हत्या गर्ने, झुठा सूचना फैलाउने तथा व्यक्तिको व्यक्तिगत जीवनमा आघात पुर्याउने कार्यप्रति सरकार गम्भीर रहेको मन्त्री तिमिल्सिनाले स्पष्ट पार्नुभयो। संविधानको धारा २८ ले दिएको नागरिकको गोपनीयताको हक संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले कसैको अनुमतिविना अनधिकृत रूपमा भिडियो वा तस्बिर खिचेर सार्वजनिक गरेमा कडा कानुनी कारबाही गरिने चेतावनी दिनुभयो।
बालबालिकाका लागि उमेरगत प्रतिबन्धको अध्ययन
सामाजिक सञ्जालको जथाभावी प्रयोगले बालबालिकामा परेको नकारात्मक असर र पारिवारिक विखण्डनप्रति ध्यानाकर्षण भएको जनाउँदै सरकारले विशेष व्यवस्था गर्न लागेको बताउनुभयो। अन्तर्राष्ट्रिय स्तरमा विभिन्न मुलुकहरूले बालबालिकालाई जोगाउन अवलम्बन गरेका उमेरगत प्रतिबन्ध (Age Restrictions) र नियामकीय मापदण्डका असल अभ्यासहरूलाई अध्ययन गरी नेपालमा पनि सोहीअनुसार नीति लागू गरिने उहाँको भनाइ थियो।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




