
काठमाडौं, १४ असोज । नेपाल शेयरबजार लगानीकर्ता संघले नेपाली पुँजीबजारलाई सुव्यवस्थित र पारदर्शी बनाउन विद्यमान ऐन-कानुनमा समग्र सुधार गर्नुपर्ने माग राख्दै प्रतिनिधि सभाको अर्थ समितिलाई विभिन्न सुझावहरू बुझाएको छ।
संघका अध्यक्ष हरिबहादुर केसीले असोज १२ गतेको पत्राचारअनुसार असोज १४ गते आयोजित अर्थ समितिको छलफलमा सहभागी भई आधिकारिक धारणा र प्रमुख सुझावहरू पेस गर्नुभएको हो।
संघले धितोपत्र बजारसँग सम्बन्धित नेपालका १० वटै ऐनका प्रावधानहरू संशोधन गरी पुराना तथा फितला कानुनहरूलाई विस्थापित गर्नुपर्नेमा जोड दिएको छ।
संघले अर्थ समितिसमक्ष राखेका प्रमुख माग तथा सुझावहरू:
१. धितोपत्र बजारसँग सम्बन्धित नेपालका १० वटै ऐनका प्रावधानहरूको समग्र सुधार (Omnibus Reforms) मार्फत पुराना र फितला कानुन विस्थापित गरी नेपाली पुँजीबजारलाई अत्याधुनिक बनाउन निष्पक्ष विशेषज्ञ/विज्ञको नेतृत्वमा धितोपत्र आयोग (Securities Commission) गठन गरिनुपर्ने।
२. ऐनको प्रकृतिमा पर्ने प्रावधानहरू निर्देशिका तथा कार्यविधिमा समावेश गरी लागू गर्ने परिपाटी तत्काल रोकिनुपर्ने।
३. सेयर कारोबार प्रणालीलाई पूर्ण रूपमा सरकारी नियन्त्रणमा ल्याई यसको गोपनीयता, सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स (AI) का कारण देखिएका जोखिम सम्बोधन गर्न आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्ने।
४. दोस्रो बजारमा रहेको विभिन्न स्वार्थ समूहको कब्जा अन्त्य गरी सर्वसाधारण लगानीकर्ताकै पहुँच कायम गराउनुपर्ने।
५. बजारमा रहेको अत्यधिक दलालीकरण र बिचौलियाकरण हटाउन ‘ब्रोकरविहीन कारोबार प्रणाली’ लागू गरिनुपर्ने।
६. सेयर कारोबारलाई सुव्यवस्थित गर्न टीएमएस (TMS) र लगानीकर्ताको बैंक खाता अनिवार्य लिङ्क गरी कारोबार सञ्चालन गर्ने व्यवस्था गरिनुपर्ने।
७. प्रत्येक दिनको कारोबारमा अन्तिम १५ मिनेटको भारित औसत गणना गर्ने व्यवस्था लागू गरिनुपर्ने।
८. ‘प्रि-ओपन’ (Pre-open), सर्किट ब्रेकर (Circuit Breaker), अर्डर प्लेस/डे ‘स गेन-लस लिमिट (Order Place/Day’s gain loss limit) को हद घटाउनुपर्ने।
९. दोस्रो बजारमा कायम रहेका अनावश्यक सीमा-बन्धनहरू हटाउनुपर्ने।
१०. सेबोनमा संरक्षित बसरूपी नयाँ स्टक एक्सचेञ्जको इजाजतसम्बन्धी विषय खारेज (Diffused) गरिनुपर्ने।
११. धितोपत्रसम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान गर्दा सर्वसाधारणलाई मात्र निसाना बनाउने र उन्मुक्ति पाउने सरकारी निकायका पदाधिकारीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने।
१२. हाल कायम सेयर बोर्डफोल्ड प्रणाली पुँजी बजार प्रतिकूल भएकाले सोमा सुधार गरिनुपर्ने।
१३. धितोपत्रसम्बन्धी कानुनहरू कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल कानुन आयोगको वेबसाइटमा प्रकाशित गरिनुपर्ने।
१४. लगानीकर्ताहरूका लागि आचारसंहिता लागू गरिनुपर्ने।
१५. महामारीका रूपमा फैलिएको प्रिमियम आईपीओ (Pre-IPO) लाई तत्काल कानुनको दायरामा ल्याइनुपर्ने।
१६. बिना बिल खर्च गर्ने रकम नभएकै कारण नेप्से लगायतका सरकारी निकायका प्रस्ताव/फाइलहरू सेबोन लगायत मन्त्रालयहरूमा लामो समयसम्म अड्किने अवस्थाको अन्त्य हुनुपर्ने।
१७. सेबोनले हरेक तहमा आफैँले गरेको निर्णयको छानबिन गर्दा स्वार्थको द्वन्द्व हुने भएकाले सो प्रथा तत्काल बन्द गरिनुपर्ने।
१८. लगातार तीन आर्थिक वर्षसम्म नाफामा नगएका कम्पनीलाई आईपीओ निष्कासन गर्न दिन नहुने।
१९. संसदीय समितिमा सेबोन अर्थ समितिको क्षेत्राधिकारमा पर्ने कि सार्वजनिक लेखा समितिको भन्ने विषयमा रहेको अन्योल हटाई स्पष्टता कायम गरिनुपर्ने।
२०. स्पष्ट व्यापारिक कार्ययोजनाविना हकप्रद सेयर निष्कासन गर्ने कार्य बन्द गरिनुपर्ने।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




