एबीपी इनर्जीले आईपीओ निष्कासन गर्ने

-



     सफल आवाज    
     असाेज १५ गते २०८३ मा प्रकाशित



काठमाडौं, १५ असाेज। जलविद्युत् आयोजना निर्माण गर्दै आएको एबीपी इनर्जी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

यस सम्बन्धमा एबीपी इनर्जी र सिद्धार्थ क्यापिटलबिच २०८३ असोज ९ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन्। प्रचलित कानुन, नियामकीय व्यवस्था तथा सम्बन्धित निकायको स्वीकृतिपछि आईपीओ निष्कासन प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

आयोजनाको अवस्था र विवरण:

एबीपी इनर्जीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा ८ मेगावाट क्षमताको ‘तादी घ्याङफेदी जलविद्युत् आयोजना’ निर्माण गरिरहेको छ। तादी खोलाको पानी उपयोग गरी विद्युत् उत्पादन गरिने यो आयोजना नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिको हो।

  • कुल अनुमानित लागत: रु १ अर्ब ६४ करोड
  • प्रतिमेगावाट लागत: करिब रु २० करोड ५० लाख
  • ऋण लगानी: सिद्धार्थ बैंकद्वारा रु १ अर्ब २३ करोड ऋण लगानी गर्ने सम्झौता भइसकेको
  • भौतिक प्रगति: ६० प्रतिशतभन्दा बढी
  • व्यावसायिक उत्पादनको लक्ष्य: २०८४ वैशाख मसान्तसम्म

कम्पनीको सञ्चालक समूहमा जलविद्युत् क्षेत्रमा लामो अनुभव सम्हालेका पूर्णलाल श्रेष्ठ र बलराम खतीवडाका साथै एफवान सफ्ट इन्टरनेसनल र इसेवाका संस्थापक प्राविधिक उद्यमी अजगर अली रहेका छन्।