संसदमा प्रश्न उठाउन सजिलो, जवाफ दिन कठिन-एमाले नेता थापा

-



     सफल आवाज    
     असाेज १५ गते २०८३ मा प्रकाशित



पाेखरा, १५ असाेज । नेकपा एमाले पाेखरा महानगरपालिका वडा नं २१ का अध्यक्ष राजेन्द्रर बहादुर थापाले प्रतिपक्षमा हुँदा प्रश्न उठाउनु, विगतका कमजोरीमाथि बहस गर्नु र सरकारलाई जवाफदेही बनाउन दबाब दिनु लोकतन्त्रको स्वाभाविक अभ्यास भएकाे बताउनु भएकाे छ ।

तर उहाँले प्रश्न उठाउनेहरू नै राज्य सञ्चालनको जिम्मेवारीमा पुगेपछि उनीहरूले राजनीतिको प्राथमिकता बदलिनुपर्ने र त्यतिबेला प्रश्न मात्र होइन, जवाफ, निर्णय र परिणाम दिनुपर्ने दायित्व सुरु हुने बताउनु भएकाे छ ।

थापाका अनुसार, ‘विगतमा उठाइएका भ्रष्टाचार, अनियमितता वा अन्य गम्भीर आरोपहरू यदि तथ्य र प्रमाणमा आधारित छन् भने ती विषय संसद्को रोस्ट्रमबाट कटाक्ष गरेर मात्र टुंगिँदैनन्। राज्यसँग अनुसन्धान गर्ने निकाय छन्, कानुन छ, न्यायिक प्रक्रिया छ। त्यसैले प्रमाण छन् भने निष्पक्ष छानबिन गरियोस्, दोषी देखिए कानुनअनुसार कारबाही गरियोस् र आरोप निराधार भए तथ्यसहित स्पष्ट पारियोस्। यही नै विधिको शासन र सुशासनको आधार हो।’

खगेन्द्र सुनारज्यू, एमालेका नेताहरूमाथि लागेका भ्रष्टाचार वा अनियमितताका आरोप पनि कटाक्षको विषय होइनन्—तथ्य, प्रमाण र कानुनी प्रक्रियाबाट टुंग्याउने विषय हुन्। संसद् कटाक्षको मञ्च होइन, नीति, निर्णय र परिणाम दिने थलो हो। तपाईंहरूलाई प्राप्त जनमतको अर्थ पुराना आरोप दोहोर्‍याइरहनु मात्र होइन, ती आरोपमाथि छानबिन गरेर सत्य के हो भन्ने स्थापित गर्नु पनि हो, थापाले सामाजिक संजालमा धारणा व्यक्त गर्नुभएकाे छ ।

अझ जिम्मेवारीमा पुगेपछि आफ्नै दलभित्रबाट उठिरहेका असन्तुष्टि, असुरक्षा र निराशाका आवाजलाई बेवास्ता गरेर केवल भाषण र आरोपमै शासन चल्दैन। आरोप लगाउने अधिकारसँगै त्यसको प्रमाण प्रस्तुत गर्ने र कानुनी टुंगोमा पुर्‍याउने जिम्मेवारी पनि आउँछ। उहाँले अधिकार र अवसर दुवै हातमा हुँदा पनि कामहरू अघि बढ्न नसक्नुको कारण के हो ? भिन प्रश्न गर्नुभएकाे छ ।

थापाले अब धेरै बोल्ने होइन, काम देखाउने बेला हो। शब्दभन्दा काम, आरोपभन्दा प्रमाण, कटाक्षभन्दा परिणाम र प्रचारभन्दा सुशासन बोलोस्। समयले विगतको मात्र होइन, वर्तमानको पनि हिसाब राख्ने उल्लेख गर्नुभएकाे छ। अन्ततः नागरिकले कसले जित्याे, कसलाई जिताइयाे होइन, बरू देशले के पायो, शासनले के दियो र परिवर्तनले के फरक पार्‍यो भन्ने कुरा हेर्नेछन्।

जनताले अब भाषण सुन्न मात्र होइन, शासनको परिणाम हेर्न चाहेकाे थापाकाे कथन छ ।