शुक्लागण्डकी एफ.एम. दशौं वर्षमा प्रवेश

-



     सफल आवाज    
     असाेज १५ गते २०८३ मा प्रकाशित



दुलेगौंडा, १५ असोज । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम.९७.६ मेघाहर्ज दशौं वर्षमा प्रवेश गरेको छ । वि.स. २०७३ साल असोज १५ गते घटस्थापनाको दिनमा रेडियोको परिक्षण प्रसारण प्रारम्भ भएको थियो ।

रेडियोका अध्यक्ष शिव पौडेलले यस अवधिमा साथ र सहयोगका लागि सञ्चालक समिति, सेयरधनी सदस्य, श्रोता महानुभावहरु, कर्मचारीहरु, विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु, सहकार्यमा रहेका विभिन्न संघसंस्थाहरु, व्यावसायिक क्षेत्रका प्रतिनिधिहरु, विज्ञापनदाताहरु र एवम् सम्पूर्ण शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गरेका छन् । साथै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ ।

वार्षिकोत्सवसँगै रेडियोले रेडियोको सभाहलमा शेयरधनी सदस्यबीच विजयादशमी, दिपावली, छट पर्व–२०८३ र नेपाल संवत ११४७ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठले एक दशकको यात्रामा साथ दिने सबैलाई धन्यवाद दिदै रेडियोलाई प्रविधिमैत्री बनाउदै लैजानुपर्नेमा जोड दिए ।

रेडियोका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टिकाराम श्रेष्ठले सञ्चालन र सदस्य विर्सना श्रेष्ठले स्वागत गरेकी थिइन् । वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष रेडियोले शुभकामना आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

गीत संगीतको अलवा रेडियोमा हाल दैनिक ६ पटक आफ्नै उत्पादनमा समाचार, स्थानीय सराकोरका विषयमा छलफल, कानुन, महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, व्यवसाय लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको स्टेसन मेनेजर राजन उपाध्यायले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट प्रसारण भइरहेको रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ ।