
काठमाडौं, १६ असाेज । बजारमा चिनीको अभाव र अस्वाभाविक मूल्यवृद्धि भइरहेको समयमा सरकारी स्वामित्वकै साल्ट ट्रेडिङ कर्पोरेसन कारबाहीमा परेको छ। चिनीको खरिद, बिक्री तथा मौज्दातको यकिन विवरण उपलब्ध गराउन नसकेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कर्पोरेसनलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो।
कर्पोरेसनले चिनीको दैनिक कारोबार र मौज्दातको नियमित अभिलेख स्टक लेजरमा राख्ने गरेको दाबी गरे पनि विभागको स्थलगत अनुगमन टोलीले माग्दा उक्त विवरण प्रस्तुत गर्न सकेको थिएन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ‘शून्य सहनशीलता’ नीतिअन्तर्गत भएको अनुगमनका क्रममा वास्तविक खरिद-बिक्री र मौज्दात प्रमाणित गर्न नसकेपछि विभागले यसलाई उपभोक्ता हितविरुद्धको गम्भीर लापरवाहीका रूपमा लिएको छ।
विभागका निरीक्षण अधिकृत दुर्गा दत्त भट्टद्वारा जारी आदेशमा कर्पोरेसनले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) विपरीत काम गरेको ठहर गर्दै दफा ३९ (१) (ख) बमोजिम ३ लाख रुपैयाँ जरिवाना गरिएको उल्लेख छ। यो आदेश कर्पोरेसनका प्रज्ज्वलमान प्रधानको नाममा जारी गरिएको हो।
जरिवाना रकम सात दिनभित्र हिमालयन बैंकमा रहेको राजस्व खातामा जम्मा गरी बैंक भौचरको प्रतिलिपि विभागमा बुझाउन निर्देशन दिइएको छ। तोकिएको समयमा रकम नबुझाए ऐनको दफा ३९ (४) बमोजिम थप कानुनी कारबाही गरिने चेतावनी विभागले दिएको छ। निर्णयमा असन्तुष्टि भए आदेश पाएको सात दिनभित्र ५० प्रतिशत रकम धरौटी खातामा राखी विभागका महानिर्देशकसमक्ष पुनरावलोकन निवेदन दिन सकिने विकल्प पनि खुला छ।
आफ्नै मातहतको सार्वजनिक संस्थानमाथि विभागले यस प्रकारको कारबाही गरेको यो पहिलो घटना हो। उपभोक्ता हितविपरीतका गतिविधिमा सरकारी निकायलाई समेत छुट नदिइने सन्देश दिन यो कारबाही गरिएको विभागले जनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




