पूर्वाधार विकासका लागि कानुनी सुधार र स्पष्ट नीति आवश्यक-चेम्बर अध्यक्ष अग्रवाल

-



     सफल आवाज    
     असाेज १६ गते २०८३ मा प्रकाशित



काठमाडौं, १६ असोज। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले देशको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा समग्र आर्थिक विकासका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी तथा नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

पूर्वाधार विकास मन्त्रालयद्वारा शुक्रबार आयोजित ‘लगानी र विकासका लागि कानुन सुधार सम्बन्धी कार्यशाला गोष्ठी’लाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले पूर्वाधार विकासका लागि कानुनी प्रक्रिया सरल, स्पष्ट र पारदर्शी बनाउनुपर्ने बताए।

विश्व अर्थतन्त्रमा तीव्र परिवर्तन भइरहेको सन्दर्भमा लगानी, प्रविधि, उत्पादन, व्यापार, पर्यटन, रोजगारी र आर्थिक गतिविधिलाई गति दिन आधुनिक तथा भरपर्दो पूर्वाधार अपरिहार्य रहेको उनको भनाइ छ। पूर्वाधार विकास भन्नाले सडक, पुल तथा भौतिक संरचना मात्र नभई डिजिटल पूर्वाधार, सूचना प्रविधि, साइबर सुरक्षा, ऊर्जा, सञ्चार, स्मार्ट पूर्वाधार र नयाँ प्रविधिलाई समेत समेट्नुपर्नेमा उनले जोड दिए।

एकद्वार प्रणाली र समन्वयात्मक संयन्त्रको माग

नीतिगत अस्पष्टता, झन्झटिलो कानुनी प्रक्रिया र विभिन्न सरकारी निकायबीच समन्वयको अभावका कारण पूर्वाधार आयोजनाहरू कार्यान्वयनमा ढिलाइ हुने गरेको अध्यक्ष अग्रवालले उल्लेख गरे। “एउटै आयोजनामा धेरै निकायको अस्पष्ट भूमिका हुँदा समय र लागत दुवै बढ्छ, त्यसैले आयोजना स्वीकृति तथा कार्यान्वयनका लागि एकद्वार र समन्वयात्मक प्रणालीको विकास आवश्यक छ,” उनले भने।

अग्रवालका अनुसार आयोजना छनोट गर्दा न्यूनतम मूल्यका आधारमा मात्र नभई प्राविधिक क्षमता, वित्तीय क्षमता, परियोजनाको आवश्यकता तथा वातावरणीय र सामाजिक प्रभावलाई समेत ध्यान दिनुपर्छ। विकासका नाममा नागरिकका अधिकार र वातावरण संरक्षणलाई कमजोर बनाउन नहुने तर अनावश्यक र दोहोरो प्रक्रियाका कारण पूर्वाधार आयोजना लामो समयसम्म अल्झिन नहुने धारणा उनले राखे।

लगानी सुरक्षा र पीपीपी मोडल

वातावरणीय स्वीकृति, जग्गा प्राप्ति र वनसम्बन्धी प्रक्रियालाई स्पष्ट, समयबद्ध र पारदर्शी बनाउन सके सार्वजनिक–निजी साझेदारी (पीपीपी) तथा निजी लगानीमार्फत पूर्वाधार निर्माणलाई थप प्रभावकारी बनाउन सकिने उनले बताए। यसका साथै लगानी सुरक्षा, राजस्व व्यवस्थापन, सम्झौता कार्यान्वयन तथा विवाद समाधानका विषयमा स्पष्ट कानुनी व्यवस्था हुनुपर्नेमा उनको जोड छ।

अध्यक्ष अग्रवालले निजी क्षेत्रले विशेष सुविधा नभई स्पष्ट कानुन, स्थिर नीति, लगानीमैत्री वातावरण, पारदर्शी प्रक्रिया र प्रभावकारी नियमन चाहेको स्पष्ट पारे। सरकार र निजी क्षेत्रबीचको सम्बन्ध केवल नियामक र व्यवसायीको मात्र नभई ‘विकासका साझेदार’का रूपमा अघि बढाउनुपर्ने उनले बताए।

“पूर्वाधार विकास बजेटबाट मात्रै हुने विषय होइन, कानुनी व्यवस्थाले पनि यसमा ठूलो प्रभाव पार्छ,” अग्रवालले भने, “प्रक्रिया सरल भयो भने लगानी आकर्षित हुन्छ, सम्झौताको सम्मान र पारदर्शिता सुनिश्चित भयो भने निजी पूँजी परिचालन हुन्छ र जवाफदेहिता कायम भयो भने जनताको विश्वास बढ्छ।”