
काठमाडौं, १७ असोज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकमा विपद् व्यवस्थापनका क्षेत्रमा नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रले गरेको सहयोग र प्राप्त उपलब्धिको सराहना गरिएकाेमा चेम्बरले धन्यबाद व्यक्त गरेको छ।
निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्दै बैठकको अध्यक्षता गर्नुभएका गृहमन्त्री सुधन गुरुङले विपद्का समयमा महत्त्वपूर्ण योगदान पुर्याउने निजी क्षेत्रलाई नेपाल सरकारका तर्फबाट सम्मान गरिने जानकारी गराउनुभएको थियो। यस कदमबाट निजी क्षेत्र उत्साहित भएको महसुस गरिएको चेम्बरले जनाएको छ।
निजी क्षेत्रको योगदानलाई राज्यको उच्च तहबाट यसरी सम्मान र कदर गरिनुले सम्पूर्ण निजी क्षेत्रलाई प्रोत्साहित बनाएको बताउँदै चेम्बरले सरकारको यस कदमको उच्च मूल्याङ्कन गरेको छ।
भोटेकोशीमा आएको बाढी तथा त्यसपछिका मनसुनजन्य विपद्का क्रममा खोज, उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङको सक्रियतासहित गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका पहल र समन्वयलाई नेपाल चेम्बर अफ कमर्सले सकारात्मक रूपमा लिएको छ।
विशेष गरी विपद्का समयमा सरकारी संयन्त्रसँगै निजी क्षेत्रबाट उपलब्ध हुने स्रोत, साधन, राहत सामग्री, स्वास्थ्य सेवा, यातायात तथा अन्य सहयोगलाई आवश्यकताअनुसार प्रभावित क्षेत्रमा पुर्याउन सरकारी निकायसँगको समन्वय महत्त्वपूर्ण रहँदै आएको चेम्बरको भनाइ छ।
गृह मन्त्रालयले विपद् व्यवस्थापनलाई बहुक्षेत्रीय जिम्मेवारीका रूपमा अघि बढाउँदै सङ्घ, प्रदेश तथा स्थानीय तहसँगै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालाबीच समन्वयमा जोड दिँदै आएको उल्लेख गर्दै मनसुनजन्य विपद्को पूर्वतयारी, सूचना तथा चेतावनी प्रणाली, खोज तथा उद्धार, राहत र पुनस्र्थापनाका लागि विभिन्न संयन्त्र परिचालन हुनु सकारात्मक रहेको चेम्बरले जनाएको छ।
नेपाल चेम्बर अफ कमर्सले विपद्का समयमा निजी क्षेत्रले सरकारलाई स्वतःस्फूर्त रूपमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सरकारसँग सहकार्य तथा समन्वयलाई थप व्यवस्थित बनाउन प्रतिबद्ध रहेको जनाएको छ।
चेम्बरले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माण, प्रभावित व्यवसायको पुनस्थापना, आपूर्ति शृङ्खला सुचारु गर्ने, आवश्यक वस्तुको सहज आपूर्ति तथा प्रभावित क्षेत्रको आर्थिक गतिविधि पुनः सञ्चालन गर्ने विषयलाई समेत प्राथमिकतामा राखिनुपर्नेमा जोड दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले प्रभावित क्षेत्रमा जारी खोज कार्यको समीक्षा गर्दै पुनस्थापना तथा पुनरुत्थानका कामलाई समेत अघि बढाउने निर्णय गरेकामा यसलाई स्वागतयोग्य कदमका रूपमा उल्लेख गरिएको छ।
चेम्बरले विपद् व्यवस्थापनमा गृह मन्त्रालयले निजी क्षेत्रसँग नियमित संवाद र समन्वयका लागि स्पष्ट संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएको छ। यस्तो संयन्त्रमार्फत निजी क्षेत्रसँग उपलब्ध स्रोत तथा क्षमताको पूर्वपहचान गरी विपद्का समयमा आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने चेम्बरको विश्वास छ।
नेपाल चेम्बर अफ कमर्सले विपद् व्यवस्थापन राज्यको मात्र जिम्मेवारी नभई सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायको साझा दायित्व भएको उल्लेख गर्दै प्रभावकारी समन्वय, पूर्वतयारी र शीघ्र निर्णय प्रक्रियामार्फत विपद्बाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न सकिने जनाएको छ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




