नेपाल-ईयू आर्थिक सम्बन्ध व्यापार र लगानीमा केन्द्रित गर्न महासंघको आग्रह

-



     सफल आवाज    
     असाेज १८ गते २०८३ मा प्रकाशित



काठमाडौं, १८ असाेज। नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र युरोपेली संघ (ईयू) बीचको आर्थिक सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र निजी क्षेत्रको साझेदारीमा थप केन्द्रित गर्न आग्रह गरेको छ।

महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा महासंघका अध्यक्ष अन्जन श्रेष्ठले नेपालका लागि ईयू महत्वपूर्ण विकास तथा व्यापार साझेदार रहेको बताउँदै नेपालको निजी क्षेत्रको क्षमता विकास, निर्यात विस्तार, लगानी प्रवर्द्धन र दिगो आर्थिक विकासमा ईयूको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने चरणमा रहेकाले त्यसपछिको संक्रमणलाई सहज बनाउन व्यापार सहजीकरण, नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि, परीक्षण तथा प्रमाणीकरण पूर्वाधार, प्राविधिक मापदण्ड र निर्यात विविधीकरणमा ईयूको थप सहयोग आवश्यक रहेको बताउनुभयो।

विशेषगरी नेपाली तयारी पोसाक, गलैंचा, फेल्ट, पश्मिना, चिया, कफी, मसला, हस्तकला तथा वनस्पतिजन्य उत्पादनको युरोपेली बजारमा पहुँच विस्तारका लागि युरोपेली मापदण्ड, गुणस्तर, ट्रेसिबिलिटी र दिगोपनसम्बन्धी क्षमता अभिवृद्धिमा सहकार्य गर्न महासंघले आग्रह गरेको छ।

नेपालमा युरोपेली लगानी आकर्षित गर्न जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा बीपीओ, उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, पूर्वाधार र डिजिटल सेवामा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले लगानी वातावरण सुधारका लागि नीतिगत स्थिरता, प्रभावकारी सरकारी सेवा, भन्सार प्रक्रियाको सरलीकरण र नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।

सो अवसरमा नेपालका लागि युरोपेली संघका राजदूत चाल्र्स ह्वाइटलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि ईयूको निरन्तर साथ र सहयोग रहने बताउनुभयो। नेपाल एलडीसीबाट स्तरोन्नतिको महत्वपूर्ण चरणमा रहेकाले त्यसका लागि आवश्यक तयारी, संक्रमण व्यवस्थापन तथा दिगो आर्थिक विकासमा ईयूले सहयोगलाई निरन्तरता दिने उहाँको भनाइ थियो। राजदूत ह्वाइटलीले नेपाल–ईयू सम्बन्धलाई विकास सहयोगमा मात्र सीमित नराखी व्यापार, लगानी, प्रविधि, निजी क्षेत्र तथा आर्थिक साझेदारीका क्षेत्रमा थप विस्तार गर्न सकिने स्पष्ट पार्नुभयो।

भेटवार्ताका क्रममा महासंघ र ईयूबीच निजी क्षेत्रको क्षमता अभिवृद्धि, निर्यात प्रवर्द्धन, लगानी सहजीकरण, हरित तथा डिजिटल अर्थतन्त्र, जलवायु उत्थानशील पूर्वाधार र एलडीसी स्तरोन्नतिपछिको व्यापारिक संक्रमणमा सहकार्य बढाउने विषयमा पनि छलफल भएको थियो। उक्त भेटमा दूतावासका उच्च अधिकारी तथा महासंघका महानिर्देशक लगायतको सहभागिता रहेको थियो।