सरकारको पुँजीगत खर्च निराशाजनक, साढे २ महिनामा २.८४ प्रतिशत मात्र

-



     सफल आवाज    
     असाेज १९ गते २०८३ मा प्रकाशित



काठमाडौं, १९ असाेज । चालू आर्थिक वर्ष २०८३/८४ को साढे २ महिना व्यतीत भइसक्दा पनि सरकारको विकास बजेट (पुँजीगत खर्च) को अवस्था निकै निराशाजनक देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार असोज तेस्रो सातासम्म सरकारले पुँजीगततर्फ १२ अर्ब २५ करोड १० लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ, जुन कुल वार्षिक बजेट विनियोजनको २.८४ प्रतिशत मात्र हो।

सरकारले चालू आर्थिक वर्षमा पुँजीगत खर्चका लागि कुल ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ विनियोजन गरेको थियो। सामान्यतया आर्थिक वर्षको सुरुवाती चरणमा आयोजनाको पूर्वतयारी, ठेक्का प्रक्रिया, जग्गा अधिग्रहण तथा प्रारम्भिक मोबिलाइजेसनका कारण खर्चको गति सुस्त हुने भए तापनि यसपटकको सुस्त प्रगतिले विकास निर्माणका आयोजना समयमै सम्पन्न हुनेमा पुनः चुनौती खडा गरेको छ।

चालू खर्च र वित्तीय व्यवस्थापनको दबाब कायम

विकास बजेटको तुलनामा सरकारको साधारण तथा साधारण-सञ्चालन (चालू) खर्च भने उच्च दरमा अघि बढेको छ। समीक्षा अवधिमा चालूतर्फ २ खर्ब ५ अर्ब ३८ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ, जुन वार्षिक लक्ष्यको १६.१६ प्रतिशत हो।

त्यस्तै, सावाँ-ब्याज भुक्तानीलगायत वित्तीय व्यवस्थातर्फ पनि ७४ अर्ब ८५ करोड १९ लाख रुपैयाँ खर्च भइसकेको छ। कुल मिलाएर असोज तेस्रो सातासम्म सरकारको कुल खर्च २ खर्ब ९२ अर्ब ४८ करोड ९७ लाख रुपैयाँ पुगेको छ। यो चालू आवका लागि ल्याइएको कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बजेटको १३.७७ प्रतिशत हो।

राजस्व संकलनको स्थिति भने तुलनात्मक रूपमा बलियो

खर्चको तुलनामा सरकारको राजस्व संकलनको प्रगति भने केही सन्तोषजनक देखिएको छ। यस अवधिसम्म सरकारले २ खर्ब २५ अर्ब ५२ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको १४.२७ प्रतिशत हो।

संकलित राजस्वमध्ये कर राजस्वतर्फ २ खर्ब १३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ १२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ संकलन भएको छ। वैदेशिक अनुदान तथा अन्य स्रोतबाट प्राप्त रकम समेत जोड्दा सरकारको कुल प्राप्ति २ खर्ब ३३ अर्ब ३३ करोड ६४ लाख रुपैयाँ पुगेको छ।