प्रिमियर सेक्युरिटिज र पोखरा बहुमुखी क्याम्पसको आयोजनामा वित्तीय साक्षरता

-



     सफल आवाज    
     असाेज २१ गते २०८३ मा प्रकाशित



पोखरा, २१ असोज। विश्व लगानीकर्ता सप्ताह (World Investor Week) को अवसर पारेर प्रिमियर सेक्युरिटिज र पोखरा बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा विद्यार्थीहरूका लागि पुँजी बजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थीहरूमा वित्तीय ज्ञान, पुँजी बजारको आधारभूत अवधारणा तथा सुरक्षित र समझबुझपूर्ण लगानीसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा पोखरा बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख शिशु कला पराजुली र प्रिमियर सेक्युरिटिजका दल बहादुर थापाले अतिथि मन्तव्य राख्दै वित्तीय साक्षरताको महत्त्वबारे आ-आफ्नो धारणा व्यक्त गर्नुभयो। प्रिमियर सेक्युरिटिज पोखरा शाखाका प्रमुख दीपक पौडेलले सहजीकरण गर्नुभएको सो कार्यक्रममा सूर्य प्रसाद खनालले मुख्य वक्ता तथा सहजकर्ताको रूपमा प्रस्तुतीकरण (Presentation) दिनुभएको थियो।

प्रस्तुतीकरणका क्रममा खनालले सेयर बजारको कार्यशैली, प्राथमिक निष्कासन (IPO), द्वितीय बजार (Secondary Market), डिम्याट खाता (DEMAT Account), जोखिम व्यवस्थापन तथा लगानी गर्दा ध्यान दिनुपर्ने व्यावहारिक पक्षहरूबारे विस्तृत जानकारी दिनुभयो। उहाँले पुँजी बजारले देशको अर्थतन्त्रमा पुर्‍याउने योगदानबारे चर्चा गर्दै युवा विद्यार्थीहरूले सानै उमेरदेखि वित्तीय ज्ञान हासिल गरी सुरक्षित र सबल भविष्य निर्माण गर्न सकिनेमा जोड दिनुभयो।

कार्यक्रमको अन्त्यमा सञ्चालित प्रश्नोत्तर (Q&A) सत्रमा मुख्य वक्ता खनालले विद्यार्थीहरूका पुँजी बजारसँग सम्बन्धित विविध जिज्ञासा र प्रश्नहरूको समाधान गर्नुभएको थियो। विश्व लगानीकर्ता सप्ताहका अवसरमा आयोजित यस कार्यक्रमले विद्यार्थीहरूमा सही लगानी संस्कृति बसाल्न र वित्तीय रूपमा सचेत नागरिक तयार पार्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।