उपत्यकामा जुनसुकै ब्रान्डको सिलिन्डर साटफेर गर्दा पनि अतिरिक्त शुल्क नलाग्ने

-



     सफल आवाज    
     असाेज २३ गते २०८३ मा प्रकाशित



काठमाडौं, २३ असाेज। चाडपर्वको समयमा काठमाडौँ उपत्यकामा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरी सिलिन्डर लिन पाइने व्यवस्था औपचारिक रूपमै लागू हुने भएको छ।

नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको छलफलपछि घटस्थापनादेखि फूलपातीसम्म यो व्यवस्था कार्यान्वयनमा ल्याउने सहमति जुटेको हो।

यस व्यवस्थाअन्तर्गत उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर तोकिएका बिक्री केन्द्रहरूमा बुझाएर त्यहाँ मौजुद रहेको अर्को ब्रान्डको भरी सिलिन्डर लिन पाउनेछन्। यसरी एकअर्का कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने निर्णय भएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख क्षेत्रहरूलाई समेटेर ४ देखि ५ स्थानमा साझा बिक्री केन्द्र (आउटलेट) मार्फत यो सेवा उपलब्ध गराइनेछ।

“हामीले संयुक्त रूपमा निर्णय गरिसकेका छौँ। घटस्थापनादेखि फूलपातीसम्म उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क नतिरी सिलिन्डर साट्न पाउनेछन्,” नेपाल आयल निगममा भएको वार्तापछि अध्यक्ष चन्दले भने, “काठमाडौँ उपत्यकामा बजारीकरण गरिने सबै ब्रान्डका सिलिन्डर यस व्यवस्थामा समेटिएका छन्।”

कहाँ-कहाँ छन् सिलिन्डर साट्ने केन्द्रहरू?

संघले प्रारम्भिक रूपमा उपत्यकाका विभिन्न भागका उपभोक्तालाई पायक पर्ने गरी पाँचवटा स्थान तय गरेको छ:

  • बालाजु : नेपाल ग्यासको आउटलेट
  • सीतापाइला : एभरेस्ट, सुगम लगायतका कम्पनीहरूको केन्द्र
  • सुकेधारा : बाबा ग्यासको बिक्री केन्द्र
  • पेप्सीकोला : सगर ग्यासको आउटलेट
  • हरिसिद्धि (ललितपुर) : श्रीराम ग्यासको केन्द्र (सम्भावित)

अध्यक्ष चन्दका अनुसार उपभोक्ताको चाप र आवश्यकतालाई हेरेर आवश्यकता अनुसार एकाध स्थानहरू थपिन पनि सक्नेछन्।

उपभोक्तालाई झन्झटमुक्त सेवा

यसअघि नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले चाडपर्वमा एउटा–दुईवटा मात्र सिलिन्डर हुने सर्वसाधारण उपभोक्ताले ग्यास नपाएर सास्ती खेप्न नपरोस् भन्दै उद्योगीहरूलाई समाधानको ठोस प्रस्ताव ल्याउन आग्रह गरेका थिए।

पछिल्लो अविरल वर्षा, बाढीपहिरो र लगातारका सार्वजनिक बिदाका कारण काठमाडौँ उपत्यकामा ग्यास वितरणमा केही असहजता देखिएपछि उद्योगीहरूले यो साझा संयन्त्र तयार पारेका हुन्।

आउटलेटहरूमा जम्मा भएका विभिन्न कम्पनीका खाली सिलिन्डरहरू पछि सम्बन्धित ग्यास उद्योगीहरूले नै आपसमा हिसाब मिलाएर साटासाट गर्ने भएकाले उपभोक्ताले कुनै झन्झट वा अतिरिक्त दायित्व व्यहोर्नुपर्ने छैन।