ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु

-



     सफल आवाज    
     असाेज २४ गते २०८३ मा प्रकाशित



किएभ, २४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन बालबालिका छन् ।

युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो । जापोरिजियामा आवासीय भवनहरूमा रुसी हवाई बम खस्दा आठ जनाको मृत्यु भएको र कम्तीमा १६ जना घाइते भएको क्षेत्रीय रक्षा परिषद्का सह–अध्यक्ष इभान फेडोरोभले शनिबार बताउनुभयो ।

रुसले पूर्णस्तरको आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्धमोर्चामा उल्लेखनीय प्रगति गर्न नसकी गतिरोधमा छन् । यद्यपि, दुवै देशबीच लामो दूरीका हवाई आक्रमण जारी छन् । पछिल्लो चार दिनमा रुसी बमबारीका कारण ५५ जनाभन्दा बढीको मृत्यु भएको छ ।

ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल प्राप्त गर्ने सम्झौता गरेको घोषणा गरेको भोलिपल्टै पछिल्ला आक्रमण भएका हुन् । यो कदम युक्रेन युद्धका कारण मस्कोमाथि अमेरिकाले वर्षौंदेखि अपनाउँदै आएको दबाबको नीतिमा आएको अप्रत्याशित परिवर्तन हो । साथै, अमेरिकी मध्यावधि निर्वाचनअघि बढ्दो इन्धन मूल्य नियन्त्रण गर्ने प्रयासका रूपमा पनि यसलाई हेरिएको छ ।