
गुल्मी, २७ असोज। रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो । गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको जानकारी दिनुभयो ।
खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भइ रोक्नुपरेको उहाँले बताउनुभयो । हवाई सेवा सञ्चालनमा आएसँगै मङ्गलबार काठमाडौँबाट १३ यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट दुई जना यात्रु बोकेर काठमाडौँ फर्किएको छ ।
नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन उडान गर्नेगरी नयाँ तालिका निर्धारण गरेको छ । लामो समयदेखि हवाई सेवा प्रभावित हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले राजधानी काठमाडौँसम्म जानुपर्ने यात्रु बढी समस्यामा परेका थिए ।
रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर विमानमार्फत काठमाडौँ–गुल्मी र गुल्मी–काठमाडौँ उडान गर्दै आएको छ । निगमले आजदेखि उडान तालिका समयमा समेत परिवर्तन गरेको छ । जसअनुसार आइतबार र मङ्गलबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ७ः१५ बजे र रेसुङ्गाबाट काडमाडौँका लागि बिहान ८ः१५ बजे र शुक्रबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ६ः२० र रेसुङ्गाबाट काडमाडौँका लागि बिहान ७ः२० बजेको तालिका रहेको छ ।
निगमले काठमाडौँबाट गुल्मीका लागि रु १० हजार ७१० र गुल्मीबाट काठमाडौँका लागि रु १० हजार ५१० हवाईभाडा निर्धारण गरेको छ । गुल्मीमा हवाई सेवा सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत सहजता आएको छ । सडकमार्गबाट राजधानी पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने यस क्षेत्रका नागरिकलाई हवाई सेवाले ४५ देखि ५० मिनेटमै काठमाडौँ आवतजावत गर्न सहज भएको छ ।
नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक रूपमा हवाई सेवा सुरु गरेको थियो । पछिल्लो समय इन्धनको मूल्यवृद्धि, सडक पूर्वाधारको स्तरोन्नति र आरामदायी सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुन थालेपछि रेसुङ्गा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको सङ्ख्यामा कमी आएको बताइएको छ ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




