पुँजी बजारमा संस्थागत लगानीकर्ता बढाउन ‘संस्थागत लगानीकर्ता नीति, २०८३’ सार्वजनिक परामर्शमा

-



     सफल आवाज    
     असाेज ३० गते २०८३ मा प्रकाशित



काठमाडौं, ३० असाेज । नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले ‘संस्थागत लगानीकर्ता नीति, २०८३’ सार्वजनिक परामर्शका लागि अघि सारेको छ। असोज २९, २०८३ मा प्रकाशित प्रस्तावित नीतिले दीर्घकालीन पुँजी परिचालन, बजारको तरलता तथा गहिराइ वृद्धि र संस्थागत लगानीलाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ।

‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को बुँदा नम्बर १५ अनुसार तयार पारिएको यस नीतिले बैंक तथा वित्तीय संस्था, सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी, सामूहिक लगानी कोष, पेन्सन कोषलगायत योग्य संस्थागत लगानीकर्तालाई स्पष्ट र जोखिममा आधारित नियमावलीअन्तर्गत दोस्रो बजारमा सहभागी गराउने अवधारणा समेटेको छ। यसबाट व्यक्तिगत लगानीकर्ताको बाहुल्यता रहेको नेपाली बजारलाई क्रमशः संस्थागत सहभागितायुक्त बजारमा रूपान्तरण गर्ने र दीर्घकालीन कोषलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने अपेक्षा गरिएको छ।

संस्थागत लगानीकर्ताको पाँच वर्ग

प्रस्तावित नीतिमा संस्थागत लगानीकर्ताहरूलाई निम्न पाँच वर्गमा विभाजन गर्ने प्रस्ताव गरिएको छ:

  1. पहिलो वर्ग: नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र योग्य वित्तीय संस्था।
  2. दोस्रो वर्ग: कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा अन्य दीर्घकालीन बचत र अवकाश कोष।
  3. तेस्रो वर्ग: जीवन, निर्जीवन, पुनर्बीमा तथा योग्य लघुबीमा कम्पनीहरू।
  4. चौथो वर्ग: सामूहिक लगानी कोष (Mutual Funds), लगानी कम्पनी, ईटीएफ (ETF), सूचकांकमा आधारित कोष र घरजग्गा लगानी कोष (REITs)।
  5. पाँचौँ वर्ग: सार्वभौम तथा रणनीतिक कोष, विकास वित्त संस्था, विदेशी संस्थागत लगानीकर्ता र अन्य योग्य संस्थागत पुँजी प्रदायक।

पुँजी बजारमा सहभागी हुन चाहने संस्थाहरूले बोर्डमा दर्ता हुनुपर्नेछ। त्यसका लागि लेखापरीक्षण गरिएको वित्तीय विवरण, सुशासन, लगानी विशेषज्ञता, जोखिम व्यवस्थापन नीति र प्रविधिगत क्षमताका आधारमा योग्य संस्थाको छनोट गरिनेछ।

लगानीको सीमा र जोखिम व्यवस्थापन

प्रारम्भिक नीतिगत मार्गदर्शन अनुसार संस्थागत लगानीकर्ताका लागि विभिन्न क्षेत्रमा लगानीको दायरा प्रस्ताव गरिएको छ:

क्षेत्र / धितोपत्रको प्रकारप्रारम्भिक लगानी सीमा (कुल सम्पत्तिको)
सरकारी धितोपत्र२०% देखि ३०%
बैंक मुद्दती निक्षेप१०% देखि २०%
संस्थागत बन्ड तथा डिबेञ्चर१०% देखि २०%
सूचीकृत धितोपत्र (सेयर)१५% देखि ३०%
सामूहिक लगानी कोष तथा ईटीएफ५% देखि १०%
पूर्वाधार तथा परियोजना धितोपत्र५% देखि १०%
साना तथा मझौला उद्यम (SME) / वैकल्पिक लगानी०% देखि ५%

नोट: कुनै एक सूचीकृत कम्पनीमा कुल लगानी सम्पत्तिको अधिकतम ३ देखि ५ प्रतिशत र इक्विटी लगानीमा कुनै एक क्षेत्रमा २० देखि २५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने प्रारम्भिक प्रस्ताव छ। रणनीतिक उद्देश्यबाहेक नियन्त्रणकारी स्वामित्व लिन नपाइने व्यवस्था गरिएको छ।

यस्तै, संस्थागत लगानीकर्ताहरूले कम्तीमा त्रैमासिक रूपमा तनाव परीक्षण (Stress Testing) गर्नुपर्नेछ, जसमा सेयर बजार २० देखि ४० प्रतिशतसम्म घट्दा वा ब्याजदर र तरलतामा उतारचढाव आउँदा पर्ने प्रभावको परीक्षण समावेश छ।

दीर्घकालीन क्षेत्र र एसएमईलाई प्राथमिकता

प्रस्तावित नीतिले जलविद्युत्, विद्युत् प्रसारण, नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, सूचना प्रविधि, उत्पादनमूलक क्षेत्र, हरित परियोजना र निर्यातमुखी उद्योगहरूमा दीर्घकालीन लगानीलाई प्राथमिकता दिएको छ। साथै, साना तथा मझौला उद्यम (SME) लाई आवश्यक पुँजी उपलब्ध गराउन विविधीकरण गरिएका एसएमई कोषमार्फत लगानी गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ।

सट्टेबाजीमा रोक र कडा निगरानी

नीतिले प्रारम्भिक चरणमा मार्जिनमा आधारित सट्टेबाजी र अनावृत (Uncovered) सर्ट सेलिङलाई पूर्ण रूपमा निषेध गरेको छ। धितोपत्र सापटी लिएर गरिने आवरणयुक्त (Covered) सर्ट सेलिङलाई भने अनुमति दिने प्रस्ताव छ। कृत्रिम कारोबार, मूल्यमा अस्वाभाविक उतारचढाव, र फ्रन्ट रनिङजस्ता गैरकानुनी गतिविधि रोक्न नेपाल स्टक एक्सचेञ्ज र बोर्डको सुपेरिभजन प्रणालीमार्फत स्वचालित निगरानी (Automated Surveillance) लागू गरिनेछ।

पारदर्शिता र नियामकीय समन्वय

संस्थागत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, सम्पत्ति बाँडफाँट, कारोबार र जोखिम सूचकहरू त्रैमासिक रूपमा सार्वजनिक गर्नुपर्नेछ।

नियामकीय दोहोरोपन हटाउन नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, नेप्से र सीडीएससीका प्रतिनिधिहरू सम्मिलित ‘नियामकीय समन्वय समिति’ गठन गर्ने प्रस्ताव गरिएको छ। समग्रमा, यो नीतिले नेपाली पुँजी बजारलाई पारदर्शी, सुरक्षित र दीर्घकालीन विकासतर्फ लैजाने लक्ष्य राखेको छ।