रेमिट्यान्स भुक्तानीलाई सहज बनाउन माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच सम्झौता

-



     सफल आवाज    
     असाेज ३० गते २०८३ मा प्रकाशित



काठमाडौं, ३० असाेज । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई थप सहज, सरल र विश्वसनीय बनाउने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेड र युनाइटेड रेमिटबीच औपचारिक सम्झौता भएको छ।

सम्झौताअनुसार बेलायत, जापान, दक्षिण कोरियालगायत विश्वका विभिन्न मुलुकबाट मनीग्राम तथा टीएमएल (TML) रेमिट्यान्समार्फत नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकको फराकिलो सञ्जालमार्फत सहज रूपमा भुक्तानी लिन सकिनेछ।

युनाइटेड रेमिट सिजी (CG) ग्रुपद्वारा प्रवर्द्धित रेमिट्यान्स कम्पनी हो। यस सहकार्यसँगै विभिन्न देशमा रहेका युनाइटेड रेमिटका प्रतिनिधि कार्यालयहरूमार्फत पठाइएको रकम माछापुच्छ्रे बैंकका शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरहरूबाट देशभर प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

सम्झौतापत्रमा युनाइटेड रेमिटका तर्फबाट सहायक महाप्रबन्धक सुदन सिंह सिलवाल र माछापुच्छ्रे बैंकका तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गर्नुभएको छ।

रेमिट्यान्स सेवाको पहुँच विस्तार हुने अपेक्षा

यस सहकार्यले वैदेशिक रोजगारी तथा विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीहरूले पठाएको रकम नेपालमा प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउनुका साथै रेमिट्यान्स सेवाको पहुँच विस्तार गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हाल माछापुच्छ्रे बैंकले देशभर रहेका १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ वटा एक्सटेन्सन काउन्टर गरी कुल २५५ स्थानबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, बैंकका १९४ वटा एटीएम सञ्चालनमा रहेका छन् भने १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।