बजेट प्राप्तिभन्दा खर्च बढी, पुँजीगत खर्च अझै सुस्त

-



     सफल आवाज    
     कार्तिक ५ गते २०८३ मा प्रकाशित



काठमाडौं, ५ कात्तिक । चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक ४ गतेसम्ममा सरकारको कुल प्राप्तिको तुलनामा बजेट खर्च सामान्य रूपमा बढी देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार समीक्षा अवधिमा सरकारको आयभन्दा व्ययको आकार बढी देखिएको हो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवमा सरकारले कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ प्राप्ति गर्ने लक्ष्य राखेकोमा कात्तिक ४ गतेसम्म ३ खर्ब १ अर्ब २८ करोड १६ लाख रुपैयाँ मात्र संकलन गर्न सकेको छ।

कुल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्यमध्ये यस अवधिमा कुल २ खर्ब ९८ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ उठेको छ। जसमध्ये कर राजस्वतर्फ २ खर्ब ७९ अर्ब ३९ करोड ५० लाख रुपैयाँ र गैरकर राजस्वतर्फ १९ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ संकलन भएको छ।

त्यस्तै, चालु आवमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखिएको भए पनि कात्तिक सुरुसम्म वैदेशिक अनुदान प्राप्ति भने शून्य रहेको छ। अन्य स्रोतबाट भने २ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ संकलन भएको छ।

पुँजीगत खर्च ६.५९ प्रतिशत मात्र

अर्कोतर्फ, बजेट खर्चको अवस्था हेर्दा सरकारले चालु आवका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेकोमा कात्तिक ४ गतेसम्म ३ खर्ब ९६ अर्ब २६ करोड ६८ लाख रुपैयाँ खर्च गरिसकेको छ।

कुल खर्चमध्ये चालुतर्फ विनियोजित १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँमध्ये २ खर्ब ९१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ खर्च भइसकेको छ। वित्तीय व्यवस्थापनतर्फ विनियोजित ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँमध्ये ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ बजेट खर्च भएको छ।

तथापि, विकास निर्माणसँग प्रत्यक्ष जोडिने पुँजीगत खर्च भने निकै सुस्त देखिएको छ। पुँजीगततर्फ कुल ४ खर्ब ३१ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा समीक्षा अवधिमा २८ अर्ब ४२ करोड २३ लाख रुपैयाँ मात्र खर्च हुन सकेको छ, जुन वार्षिक लक्ष्यको ६.५९ प्रतिशत मात्र हो।

समग्रमा, चालु खर्च र वित्तीय व्यवस्थापन (ऋणको साँवा-ब्याज भुक्तानी) को तुलनामा विकास निर्माणतर्फको पुँजीगत खर्च निकै पछाडि परेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाएको छ।