बाँकेको अम्बे स्टिलमा आगलागी: १ करोड ५६ लाखको क्षति

-



     सफल आवाज    
     कार्तिक ५ गते २०८३ मा प्रकाशित



नेपालगञ्ज, ५ कार्तिक । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा बिहीबार बिहान आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।

उद्योग परिसरभित्र रहेको फलाम पगाल्ने इन्जिनका लागि राखिएको २ लाख लिटर क्षमताको फर्नेस आयल ट्यांकीमा बिहीबार बिहान करिब १:३० बजे सर्ट सर्किट भई एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

घटनाको सूचना लगत्तै इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त र निरन्तर प्रयासपछि बिहान करिब २:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।

आगलागीबाट ठूलो परिमाणमा भौतिक क्षति भए तापनि कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ। घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।